गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले विभिन्न संघ संस्थाको सहयोग र सक्रिय सहभागितामा मंगलबार नेपाली महावाणिज्य दूतावासमार्फत नेपाल सरकारलाई गैरआवासीय नेपाली नागरिकताका विषयमा ज्ञापन पत्र बुझाएकाे छ।
नेपालको संबिधान २०७२ को भाग २ को दफा १४ मा गैरआवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्था यसअघि नै गरिसकेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा नेपाल सरकारले सो सम्बन्धि ऐन कानून बनाउनका लागि बिधेयक संसदमा दर्ता भई हाल राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको छ।
प्रस्तावित विधेयकमा संविधानमा उल्लेख भएको भन्दा भिन्न प्रकारले ब्याख्या भएको र गैरआवासीय नेपाली सम्बन्धि थुप्रै विषयहरु समाबेश नभएकाले सम्बोधन गरिनु पर्ने बुँंदाहरु उल्लेख गरी ज्ञापन पत्र बुझाइएको हो। ज्ञापन पत्र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका महासचिव बाबु राम (बिआर) लामाले पढेर सुनाएका थिए भने गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक नबिन शेरचन, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष खगेन्द्र जिसीले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’का सभापति विष्णु सुवेदी, प्रवासी नेपाली मञ्चका तर्फबाट सीता खरेल, नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य पिताम्बर भुसाल, कांग्रेस महासमिति सदस्य बेद खरेल, डेमोक्रेटिक युथ काउन्सिलका प्रमोद सिटौला, नेपाल तरुण दल अमेरिकाका अनन्त सुवेदी, नेपाल विद्यार्थी संघ अमेरिकाका प्रभात सापकोटा, सामाजिक अभियन्ता मिङ्मार शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी सुवेदी लगायतका व्यक्तिहरुको उपस्थित थियो।