गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले संसदमा प्रस्तुत गरिएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छुट भएका केहि बिषयहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष भवन भट्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रस्तावित विधेयकमा राजनैतिक अधिकार बाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने छ भन्ने व्यहोराप्रति असन्तुष्टि जनाएका हुन् ।
संघको अथक प्रयास पश्चात संविधानले संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी “नेपालको गैरआवासीय नेपाली नागरिकता” प्रदान गर्न सकिने प्रावधान संविधानमा राखेको स्मरण गराईदै विज्ञप्तिमा राजनैतिक अधिकार बाहेक भन्ने शब्द राखेर संविधानको भावनालाई संकुचित गर्न खोजेको हो कि भन्ने आशंका समेत व्यक्त गरेको छ ।
यस्तै एनआरएनएले प्रस्तावित ऐनमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि “साविकमा नेपालको नागरिकता लिई परि गरेको प्रमाणलाई अनिवार्य पूर्व शर्तका रुपमा राखिनुको औचित्य समेत नभएको जनाएको छ ।
गैरआवासीय नेपाली नागरिकतालाई वंसज, जन्मसिद्ध र अंगिकृत जस्तै नेपालको नागरिकताको एक प्रकार मानी यस्तो नागरिकताको प्रमाणपत्र भएकाहरुले अन्य नेपाली नागरिक सरह सबै आर्थिक सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने प्रष्ट व्यवस्था हुनु पर्ने माग गरेको छ ।
नागरिकता पाउन गृह मन्त्रालयमा निवेदन दिने भनिएको छ । गृह मन्त्रालयमा पहुंच पनि अप्ठेरो हुने र मन्त्रालय कार्यान्वयन भन्दा पनि नीति निर्माण गर्ने निकाय भएकोले यस्तो नागरिकता विदेश स्थित नेपाली नियोग र सम्बन्धित जिल्ला कार्यालयबाट नै प्राप्त हुने व्यवस्था गरिएमा सहज हुने भन्दै गैरआवासीय नेपाली नागरिकले चाहेमा अरु नेपाली नागरिक सरह नेपाली राहदानी पाउने व्यवस्था गरिनु पर्ने माग गरेको छ ।
प्रस्तावित ऐनले गैरआवासीय नेपाली नागरिकका विदेशी पति पत्निको बारेमा केहि बोलेको छैन, विज्ञप्तिमा भनिएको छ , 'गैरआवासीय नेपाली नागरिकका विदेशी पति पत्निलाई पनि गैरआवासीय नेपाली नागरिकता वा यस्तै प्रकारको स्थायी प्रकृतिको प्रमाणपत्रको व्यवस्था गरिनु पर्दछ ।'
एनआरएनएले कुनै व्यक्तिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरिसकेको रहेछ भने तिनका छोराछोरीले बाबु वा आमाको गैरआवासीय नेपाली नागरिकता कै आधारमा गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था कानुनले गर्नु पर्ने, पहिले विदेशी मुलुकको नागरिकता लिएकोमा पछि नेपाल नै फर्केर नेपालमा नै स्थायी बसोबास गर्ने निष्कर्षमा पुगेमा र निजले विदेशी नागरिकता परित्याग गरेमा स्वतः साविकको नेपाली नागरिकता पाउने व्यवस्था ह्ुनु पर्ने, विदेशमा रहेका नेपाली चेलीहरुका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रष्ट व्यवस्था नागरिकता ऐनले गर्नु पर्ने लगायतका माग गरेकाे छ ।
गैरआवासीय नेपाली संघले नेपालको नागरिकताको निरन्तरताका लागि पहल गर्दै आएको छ ।