‘सम्झिरहेछु आमालाई के गर्दै होलिन् त्यहाँ उनी, अनि नानीहरु के गर्दै होलिन् त्यहाँ, त्यही मेरो घरको लागि म यहाँ छु, मेरो देश कहाँ छ, म कहाँ छु।’
पच्चीस वर्ष पुरानो नेपालको प्रख्यात सांगीतिक ब्याण्ड कन्दराको यी र यस्ता प्रस्तुतिले शनिबार साँझ अमेरिकाको बिशाल सहर डालस घन्काएको छ। उल्लेख्य संख्यामा उपस्थित नेपाली गीत–संगीतप्रेमी दर्शकलाई कन्दराले सुरुदेखि कार्यक्रमको अन्त्यसम्म बाँधेर राख्न सफल भएको थियो।
कन्दराले लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, विदेशिएर गइन् उनी, चञ्चले कान्छीको जोबन, भेंडी गोठैमा लगायत दर्जनभन्दा बढी लोकप्रिय गीतले दर्शकलाई ‘नोस्टाल्जिक’ बनाएको थियो।
‘पावरफुल’ स्वरका धनी विवेक श्रेष्ठको गायनलाई सुनिल थापा, बुद्धराज बज्राचार्य, अमित गुरुङ, अशिम शेरचन, अनिल गुरुङ, अविनाश गायकको बाद्यवादनले थप उचाइमा पु¥याउँदा कार्यक्रमस्थलमा उपस्थित सबै दर्शक कम्मर मर्काएर नाचेका थिए।
लामो समय चर्चा बाहिर रहेको कन्दरा ब्याण्ड दुई वर्षअघि नयाँ एल्बम ‘भेडी गोठैमा’ बाट नेपाली सांगीतिक आकाशमा पुनः प्रवेश गरेको हो। देश विदेशमा आफ्नो प्रस्तुतिमा ब्यस्त कन्दरा पछिल्लो समय एक महिनादेखि अमेरिकाका विभिन्न शहरका नेपाली माझ छ। वाशिङ्टन डिसी र लसएन्जलसमा आफ्नो प्रस्तुतिपश्चात डालसका युवा व्यवसायी दिवश थापा, चिन्तामणि बराल र विकास उप्रेतीको आयोजनामा कन्दरा ब्याण्डले डालसमा सांगीतिक प्रस्तुति गरेको हो।
नेपालको सुन्दर नगरी पोखरामा सन् १९९२ मा कन्दरा स्थापना भएको थियो। नेपाली लोक गीत संगीतमा आधुनिक पप संगीत घुलन गर्न कन्दरा ब्यान्डको महत्वपूर्ण योगदान छ। कन्दराका गीतहरु सबै उमेर समूहमा उत्तिकै लोकप्रिय छन्।
चर्चित साहित्यकार सरुभक्त श्रेष्ठ, विनोद गौचन, रमेश श्रेष्ठका गीतलाई आधुनिक ‘लोक पप’ मा ढालेर कर्णप्रिय गीत पस्केको कन्दरा देशविदेशमा रहेका स्रोताका मन जित्न सफल छ।