भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ। भारतीय रेलसेवाले सार्बजनिक गरेको तथ्यांकमा यस्तो पाइएको हो।
भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो। रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको बताइएको थियो।
तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जनाएको छ। भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रम सञ्चालन गरिरहेको बताएको भए पनि यसरी हुने मृत्यु भने नघटेको बताइएको छ।
भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो। भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गर्छन्।