शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई बिरामीलाई सफल प्रत्यारोपण गरिएको छ ।
मस्तिष्क मृत्यु भएका सर्लाहीका ७२ वर्षीय टेकबहादुर योञ्जनको दानबाट प्राप्त दुईवटा मिर्गौला वीर अस्पताल र यस केन्द्रमा उपचारत दुई जना बिरामीमा सफल प्रत्यारोपण गरिएको केन्द्रद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
पोखरा घर भई वीर अस्पतालमा मिर्गौलाको उपचार गराई रहनुभएका ५६ वर्षीय एक पुरुषलाई र स्याङ्जा घर भई पोखरा मणिपाल टिचिङ अस्पताल हुँदै भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेका ३० वर्षीय अर्का पुरुषलाई सफल प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।
मिर्गौला प्रत्यारोपण गरिएका दुवै बिरामीले डेढ वर्षदेखि मस्तिष्क मृत्यु भएका व्यक्ति दानबाट पाइने मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्न पर्खाइमा बसेको बताउँदै यो वर्ष भने आफूहरु नयाँ जीवन पाइएको बताए ।
केन्द्रका प्रमुख डा श्रेष्ठले मस्तिष्क मृत्यु भएकाहरुले गरेको मिर्गौला दानबाट प्रत्यारोपण गर्न ५ सयजना मिर्गौलाका बिरामी फाराम भरेर प्रतीक्षामा रहेको बताए ।