भारतमा पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन विकास गरिएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेतृत्वमा यसको ट्रायल पूरा गरेर रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई सुम्पिएको छ । चाँडै नै यसको व्यवसायिक प्रयोजनका लागि स्वीकृति मिल्ने अपेक्षा गरिएको छ ।
हालसम्म पुरुष बन्ध्याकरणका लागि शल्यक्रिया गर्ने गरिएको थियो । तर अब शल्यक्रिया आवश्यक पर्ने छैन । अब एउटा इन्जेक्सनले गर्भनिरोधकको काम गर्नेछ । एकपटक इन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्ने र सफलता दर ९५ प्रतिशत रहेको जनाइएको छ । काउन्सिलका डा. एस शर्माले भने, ‘१३वर्षसम्म काम गर्ने रेकर्ड छ, आशा छ यसले यो भन्दा पनि बढी समय काम गर्नेछ ।’
आइआइटी खड्गपुरका वैज्ञानिक डा एस के गुहाले यो इन्जेक्सनमा प्रयोग हुने औषधिको खोजी गरेका थिए । यो एक खालको सिन्थेटिक पोलिमर हो । शल्यक्रियाका क्रममा वीर्य यात्रा गर्ने जुन नसा काटिन्छ, त्यही नसामा यो इन्जेक्सन दिइन्छ । यो इन्जेक्सनको एउटा डोज ६० मिलि हुन्छ।
चिकित्सकका अनुसार इन्जेक्सन दिएपछि नेगेटिभ चार्ज हुन थाल्छ र वीर्य टुक्रिन थाल्छ र गर्भ रहने सम्भावना हुँदैन ।यसको प्रयोग पहिले मुसा, पछि खरायो र त्यसपछि अन्य जनावरमा गरिएको थियो । पछिल्लोपटक यसको प्रयोग मानिसमा पनि गरिएको थियो । अब वैज्ञानिकहरु वीर्यलाई पुनः सक्रिय बनाउन कसरी सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।