सन् १९५० को दशक । अमेरिकाको जेनिथ इलेक्ट्रोनिक्सका अध्यक्ष युजेन एफ म्याकडोनाल्डले कम्पनीका इन्जिनियरहरुलाई एउटा चुनौती दिए । भने, ‘म टेलिभिजनमा आएको विज्ञापन हेर्न घृणा गर्छु, म एउटा यस्तो उपकरण चाहन्छु, जसले ती विज्ञापनलाई चुप गराओस् या अर्को च्यानल लगाउन सकियोस् ।’
म्याकडोनाल्डको यही चाहनाले अहिलेको रिमोट कन्ट्रोल जन्मियो र टेलिभिजन हेर्ने प्रणालीमै परिवर्तन आयो ।
जेनिथ कम्पनीले पहिले तयार पारेको उपकरणलाई ‘फ्ल्यासम्याटिक’ भनियो, जसलाई इन्जिनियर युजेन पोलीले डिजाइन गरेका थिए । यसलाई १९५५ मा सार्वजनिक गरियो । तर उनी इलेक्ट्रिकल नभई मेकानिकल इन्जिनियर थिए । त्यसैले उपकरण पनि मेकानिकल नै थियो।
टेलिभिजनको च्यानल परिवर्तन गर्ने अन्य उपकरण त त्यतिबेलै थिए । ती टेलिभिजनसंगै तारले जोडिएका हुन्थे । जेनिथ कम्पनीले बनाएको यो रिमोट भने टीभीसँग जोडिएको हुँदैनथ्यो र टीभी खोल्न, बन्द गर्न र च्यानल परिवर्तन गर्न मिल्थ्यो । तर म्याकडोनाल्डले भनेजस्तै यसले विज्ञापन आएका बेला ध्वनी बन्द गर्न भने मिलेन ।
‘फ्ल्यासम्याटिक’ रिमोट हेर्दाखेरि बालबालिकाको खेलौनाजस्तै देखिन्थ्यो । फ्ल्यासम्याटिक पनि किन्न्ुपर्ने भएकाले टीभी किन्दा १ सय डलर थप्नुपर्ने भयो । त्यतिखेर एउटा कारलाई ६ सय डलर पथ्र्यो । त्यसपछि जेनिथकै इन्जिनियर रबर्ट एडलरले अर्को खालको रिमोट बनाए । नयाँ खालकोलाई स्पेस कमान्ड भनियो । यसमा थिच्नुपर्ने आल्मुनियम रड हुन्थे र निश्चित फ्रिक्वेन्सीमा मात्र काम गथ्र्यो । यसमा टीभी खोल्न र बन्द गर्न, च्यानल परिवर्तन गर्न र साउण्ड बन्द गर्ने र खोल्ने सुविधा थियो । यसमा चारवटा बटन हुन्थ्यो ।
सन् १९७० को दशकसम्म ठूला रिमोट आए । पहिलोपटक बीबीसीले आंशिक रुपमा अलिक जटील खालको उपकरण विकास गर्यो । सिफ्याक्स नामले १९७४ मा सार्वजनिक गरिएको रिमोट अक्षरमा आधारित थियो भने एनालग टीभी फ्रिक्वेन्सीमा काम गथ्र्यो । तर सामान्य रिमोटको प्रयोगले समाचार, खेलकूद, आर्थिक सूचनाका पेजहरु भने हेर्ने सुविधा थिएन । यसले गर्दा रिमोटमा विभिन्न पेज नम्बर हेर्न मिल्ने गरी नयाँ कन्ट्रोलर थपिए । नयाँ आवश्यकता थपिँदै जाँदा निर्माताहरुले नयाँ नयाँ सुविधा थप्दै गए । निर्माताहरुले इन्फ्रा रेड लाइट प्रयोग गरे ।
सन् १९८० र ९० को दशकमा केबल टीभीको उदय तथा भिडियो रेकर्डर, डीभीडी, गेमजस्ता साधनको विकासले रिमोर्ट अनिवार्य अंगजस्तै बन्न पुगेको छ ।
अहिले प्रयोगमा आएको रिमोट स्मार्ट रिमोटमा परिणत भएको छ । नयाँ खालका रिमोटमा टाइभ सेभर, दृश्य फ्रिज गर्न मिल्नेदेखि लिएर टीभीमै गेम खेल्ने, इन्टरनेट हेर्ने, रेकर्ड गर्न मिल्नेलगायतका बहुसंख्यक सुविधा भएका छन् । बीबीसीबाट