बेलायतले आफ्नो भूउपग्रहमार्फत् अन्तरिक्षमा भएको फोहोर संकलन गर्न पृथ्वीको कक्षमा विशेष किसिमको जाल लगाएको छ।
अन्तरिक्षलाई फोहोरमुक्त गर्ने योजनाअनुसार परीक्षणका रुपमा बेलायतले यो प्रयास गरेको हो । यस्तो जाल पृथ्वीभन्दा ३ सय किलोमिटरमाथि लगाइएको छ। पृथ्वीको कक्षमा साढे ७ हजार टन फोहोर तैरिइरहेको अनुमान गरिन्छ । यस्ता फोहोरहरु विशेष उद्देश्यले प्रक्षेपण गरिएका भूउपग्रहका लागि खतरा मानिन्छ।
सुरे स्पेस सेन्टरका निर्देशक प्रोफेसर गुगलाइलमो अलगीटीले आफूहरुको उद्देश्य अनुसार नै जालले काम गरेको बताए। यसअघि पनि पृथ्वीको कक्षमा तैरिइरहेका फोहोर हटाउने प्रयास भएपनि सफल हुन सकेको थिएन । तर यो प्रयास सफल भएको दाबी अनुसन्धानकर्ताहरुले गरेका छन् । अब दोस्रो चरणमा पनि यही विधि प्रयोग गरिने जनाइएको छ।
अब भूउपग्रहमा एक विशेष खालको क्यामेरा लगाइनेछ, जसले वास्तविक फोहोर पत्ता लगाएर हटाउनेछ। पृथ्वीको कक्षमा लाखौं टुक्राहरु तैरिइरहेका छन् । यस्ता टुक्राहरु पूराना भएका र सेवा दिन नसकेको भुउपग्रहका अंश तथा अन्तरिक्ष यात्रीले गल्तीवश छुटाएका उपकरण छन्।
यस्ता फोहोर नहटाए अन्य भूउपग्रहलाई असर गर्न सक्ने खतरा रहेको बताइएको छ। यस्ता फोहोरहरु एक आपसमा ठक्कर खाएर थप टुक्रा बन्ने सम्भावना रहेको पनि बताइन्छ। बीबीसीबाट