मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले असोज ११ देखि २५ सम्म राजधानीका चक्रपथभित्र विभिन्न स्थानमा परीक्षण गरेको हो। प्राधिकरणद्वारा सार्वजनिक प्रतिवेदनअनुसार मोबाइल सेवामा एनसेल र स्मार्ट टेलिकमभन्दा नेपाल टेलिकम अघि देखिएको छ। इन्टरनेट सेवामा एनसेलको गुणस्तर अन्य सेवा प्रदायकभन्दा राम्रो देखिएको छ।
प्राधिकरणको गुणस्तर व्यवस्थापन सम्बन्धी विनियमावली अनुसार मोबाइल सेवामा कल स्थापित हुने दर ९९ प्रतिशत वा त्यसभन्दा माथि हुनुपर्ने प्रावधान छ। यसको अर्थ सय पटक फोन गर्दा ९९ पटक लाग्नुपर्ने प्रावधान हो। नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम तीनै सेवा प्रदायकको कल स्थापित हुने दर ९९ प्रतिशत छैन। सबैभन्दा कमजोर स्मार्ट टेलिकम देखिएको छ। उसको कल स्थापित दर ९२ प्रतिशत मात्रै छ।
फोन स्थापित हुन लाग्ने समय पनि प्राधिकरणले तोकेको मापदण्डभन्दा कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ। एक मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा डायल भएको र अर्कोमा घण्टी बजेको अवधिलाई फोन स्थापित हुन लाग्ने समय हो। यो अवधि बढीमा ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्ने प्रावधान छ। तीनै सेवा प्रदायकको सेवा यसमा कमजोर छ। कल स्थापित हुन लाग्ने समय एनसेलको साढे ८ सेकेन्ड, टेलिकमको साढे ११ सेकेन्ड र स्मार्ट टेलिकमको करिब १४ सेकेन्ड छ। कान्तिपुरमा खबर छ।