नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ‘फूलको पर्व’ पनि भन्ने गरिन्छ । घर सिँगार्न र दाजुभाइदिदीबहिनीलाई लगाउन प्रयोग गरिने भएकाले विशेषगरी यो पर्वमा फूल र मालाको बढी माग हुन्छ । र, यस्तो माग बर्सेनि बढ्दै गएको छ । गत वर्ष १५ लाख मालाको माग भएकोमा यसवर्ष २२ लाख मालाको माग रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । जसमध्य १५ लाख सयपत्रीका र ७ लाख मखमली फूलका माला बजारमा पुग्ने जनाइएको छ । थोकमूल्य कम्तीमा ५० रुपैयाँ तोकिदा उपभोक्ताले एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नु पर्नेछ । गतवर्ष ५० देखि ६० रुपैयाँसम्ममा माला किनमेल भएको थियो । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने छ । तिहारकै सेरोफेरोमा फ्लोरिकल्चर एशोसिएशनका महासचिव विश्वमणि पोखरेलसँग स्पेसखबरले गरेको कुराकानीको सम्पादित अंश :
तिहारको तयारी कस्तो छ ?
तिहारमा फूलको माग अत्याधिक हुने गर्छ । त्यसका लागि हामीले तयारी गरिरहेका छौं । नेपालीको ठूलो चाड दशैं र तिहार हुन् । दशैंमा फूलको माग नहुने भए पनि तिहारमा अत्याधिक मात्रामा माग हुने गर्छ । उपभोक्ताले तिहारमा आवश्यक पर्ने फूलहरु सहजै किन्न सकुन् भन्ने उद्देश्यले मेला आयोजना गर्ने गरेका छौं । तिहारमा विशेषगरी सयपत्री र मखमली मालाको बढी खपत हुने भएकाले त्यसको व्यवस्थापनमा हामी लागिपरेका छौं।
स्थानीयस्तरमा उत्पादन हुने मालाबाहेक अपुग माला भारतबाट ल्याउने गरिन्छ । संस्थाले आफैँ मालाहरु किन्ने र बेच्ने त गर्दैन तर पनि बजारको मागअनुसार हामीले समन्वय गर्नुपर्ने हुन्छ ।
नेपालमा पुष्प व्यवसायको स्थिति कस्तो छ ?
यो व्यवसाय बर्सेनि बढ्दो क्रममा छ । हरेक वर्ष १० देखि १५ प्रतिशतले पुष्प व्यवसाय बढ्दो क्रममा रहेको आँकलन गरेका छौं । यसैगरी उत्पादन पनि वार्षिक १५ प्रतिशतका दरले बढ्दै गएको छ । आर्थिक वर्ष २०७४–०७५ मा वार्षिक १ अर्ब ८६ करोडको कारोबार पुगेको छ । जसमध्ये ११ करोडको पुष्प आयात गरिएको छ । आयातको दर प्रतिबर्ष घट्दै गएको छ । यही हिसाबले हेर्ने हो भन े अबको दुई–तीन बर्षमा हामी पुष्पमा पूर्णरुपमा आत्मनिर्भर हुन सक्छौं । यसैगरी पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि झण्डै ४३ हजारभन्दा बढी मानिसले रोजगारी पाएका छन् ।
तिहारमा सयपत्री र मखमलीका मालाहरु बढी प्रयोग हुन्छन् । यसको उत्पादकत्व कस्तो छ ?
तिहारमा बढी खपत हुने भनेका सयपत्री र मखमलीका माला नै हुन् । अहिलेको तिहारमा २२ लाखा माला खपत हुन्छन् भन्ने हाम्रो आँकलन छ । यी भनेका व्यवसायिक माला हुन् । अझ गाउँघरतिर आफैँले उत्पादन गरेर प्रयोग गर्ने मालाको हिसाब गरिएको छैन ।
यसवर्ष माग हुने २२ लाख मालामध्ये १५ लाख माला सयपत्री फूलका हुन् । तीमध्ये १२ लाख माला नेपालकै हुन् भने ३ लाख माला भारतबाट आयात गर्नुपर्छ । नेपाल मखमली फूलमा आत्मनिर्भर भइसकेको छ । मखमली माला हामी आयात गर्दैनौं । बरु निर्यात गरिरहेका छौं । माला काठमाडौं उपत्यकाका जिल्ला, यस वरपर र तराईका जिल्लाबाट पुर्ति हुने गर्छ ।
तिहारमा एउटा मालाको मूल्य कति पर्छ ?
अगाडिका बर्षहरुमा भएको कारोबारका हिसाबले यसबर्षको मूल्य निर्धारण हुन्छ । भारतबाट आउने माला सरदर कतिमा आइपुग्छ त्यसका आधारमा मूल्य तय हुन्छ । हामीले छलफल गरेअनुसार तिहारमा एउटा सयपत्री फूलको मालाको थोक मूल्य कम्तिमा ५० रुपैयाँ हुन्छ । यो नै अन्तिम मूल्य भने होइन । किनभने सयपत्री माला मौसमले पनि प्रभाव पार्छ । मौसम तलमाथि हुनेबित्तिकै गुणस्तर घट्ने हुन्छ र त्यसले सिधै मूल्यमा पनि असर गर्छ ।
तिहार पर्व ढिला हुँदा व्यवसायमा कस्तो प्रभाव पार्यो ?
तिहार पर्व अगाडि पछाडी हुँदा पुष्प उत्पादकहरुलाई धेरै प्रभाव पार्छ । गत बर्ष तिहार चाँडै भएकाले समयमै सयपत्री फूलका माला बजारमा आउन सकेनन् । गतबर्ष धेरै भारतबाट आयात गर्नुपरेको थियो । अहिले १ हप्ता ढिला तिहार हुँदा सबै फूल फुलिसक्यो । अहिले कोल्डस्टोरमा राख्नुपर्ने बाध्यता छ । त्यसैले अब किसानहरुले पनि सयपत्री फूल लगाउँदा क्यालेण्डर हेरेर लगाउनुपर्ने अवस्था देखिएको छ । कम्तीमा सयपत्री फुल्न ७० देखि ९० दिन लाग्ने भएकाले त्यसैअनुसार क्यालेण्डर बनाउनु पर्छ ।
विगत र बर्तमान आयातको अवस्था कस्तो छ ?
झण्डै १२ बर्ष अघि ८० प्रतिशत पुष्प आयात गर्ने अवस्थामा थियौं । यहाँ यसको व्यवसायिक उत्पादन एकदमै कम थियो । जसले गर्दा त्यतिबेला धेरै फूल भारत लगायतका देशबाट ल्याउनुपर्ने अवस्था थियो । तर अहिले अवस्था फेरिएको छ । अहिले हाम्रै देशमा उत्पादन भएको पुष्पले नेपाली बजारकोे ८० प्रतिशत हिस्सा ओगटेको छ । अहिले हामी २० प्रतिशतमात्रै आयात गर्छौ । अझ भनौं २० प्रतिशत आयात भनेको एक्कासी माग बढ्ने समयमा मात्रै हामीले वाहिरबाट आयात गर्नुपर्ने हो । अरुबेला नेपालकै पुष्पले यहाँको बजार थेग्छ ।
नेपालमा पुष्पको व्यापारिक चेन कस्तो छ ?
यसमा दुई–तीन वटा पक्ष छन् । नर्सरी व्यवसाय गर्नेहरुले आफैँ उत्पादन गरेर आफै मार्केटिङ गर्नुहुन्छ । ‘कट फ्लाओर’ का लागि काठमाडौंमा ५ वटा होलसेल पसल छन् । उत्पादकहरुले होलसेलर र होलसेलरले रिटेलिङलाई बेच्छन् । आयात गर्नेहरुले पनि रिटेलरलाई र मठ मन्दिरमा लगेर पनि बेच्नुहुन्छ ।
नेपालको मखमली विदेश पनि पठाउनुहुन्छ ?
हो, नेपालको मखमली फूल हामी बाहिर पनि पठाउँछौं । विदेशमा बस्ने नेपालीले मखमली फूलको बढी माग गर्नुहुन्छ । खासगरी अष्ट्रेलियामा यसको माग बढी छ । त्यसैगरी खाडी मुलुकमा बस्ने नेपालीले पनि मखमली फूलको माला बढी माग गर्नुहुन्छ । हामीसँग आधिकारिक डाटा त छैन तर पनि नेपालको मखमली फूलको माला झण्डै डेढदेखि २ लाख माला निर्यात हुन्छ अनुमान छ ।
पुष्प व्यवसायमा सरकारको सहयोग कति छ ?
पुष्प व्यवसायलाई नै प्रवर्धन गर्ने उद्देश्यले २०६९ सालमा ‘पुष्प प्रवद्र्धन नीति’ मन्त्रिपरिषद्बाट पारित भएको थियो । त्यसैका आधारमा ५ वर्षे कार्ययोजना बनेको थियो । कार्ययोजनामा यसका स्टेकहोल्डरले गर्ने कामहरुको बर्गीकरण गरिएको थियो । तर स्टेकहोल्डरबाट त्यति काम भएन । त्यसमा झण्डै ३७ करोडको बजेट अनुमान गरिएको थियो । जसमा जम्मा ८ करोड मात्रै खर्च भयो । त्यो अगाडि बढ्न सकेन । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले प्रवद्र्धनको काम गर्यौं । अरुले गरेनन् । अहिले संघीयता कार्यान्वयन भइसके पछि सरकारले हामीलाई सहयोग गरेको छैन ।
अन्त्यमा, फ्लोरिकल्चर एशोसिएशन नेपाल केमा व्यस्त छ ?
पुष्प व्यवसायीको हकहित र प्रविधि विकासको काममा एशोसिएसन अगाडि बढिरहेको छ । व्यवसायीका इच्छा चाहनाअनुसार प्रविधिको विकासको काम अगाडि बढाईरहेका छौं ।