नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीको भर्खरै बुटवलमा केन्द्रीय समितिको बैठक सम्पन्न भयो। बैठकले सरकारको अलोकप्रियताले कम्युनिष्ट क्रान्तिका लागि बाटो निमार्णमा सहयोग पुगेको निष्कर्ष निकालेको छ। यही सेरोफेरोमा सो पार्टीका वरिष्ठ नेता सीपी गजुरेलसँग बुटवलमा विक्रम खड्काले गरेको कुराकानीको सम्पादित अंशः
हालै सम्पन्न केन्द्रीय समिति बैठकले पुनः संघर्षलाई जोड दिएको छ। अब कस्तो खालको संघर्ष हुन्छ?
पहिला पनि संर्घषमै जोड दिएका थियौं। तर पार्टी विभाजन भयो, केही साथीहरु अन्यत्र गएपछि संघर्षलाई केही समय थाँती राखेर संगठन निमार्णमा जोड दिएका थियौं। त्यतिबेला संगठन, संघर्ष र संगठनको नीति थियो। अहिलेचाहिँ संघर्ष, संगठन र संर्घषको नीति लिएका छौं। शान्तिपूूर्ण आन्दोलनमा राज्यले दमन गर्छ भने हामी त्यहीअनुसार अघि बढ्छौं, होइन भने शान्तिपूूर्ण जनआन्दोलन, जनसंघर्षलाई नै अघि बढाउँछौं।
विगतमा पनि तपाईहरुले संर्घष गरेकै हो। ठुलो धनजनको क्षति भयो। संगैका धेरै साथी राज्यसत्तामा हुनुहुन्छ। फेरि केका लागि संर्घष त?
जुन उद्देश्यका लागि जनयुद्ध गरिएको थियो त्यो केही पनि पूूरा भएकै छैन। अहिले प्रचण्डले गणतन्त्र आयो सबै पूूरा हुन्छ भनेर गरेको कुरा एकदम गलत हो। यसले सिंगो जनयुद्ध, जनआन्दोलन र सहिदप्रति घोर अपमान गरेको छ। जनतालाई भुलभुलैयामा पारेर आफू राज्यसत्ताको स्वादमा मस्त हुने कुराले जनतामा कुनै अर्थ राख्दैन। यो विचार र विवेकविहीन मानसिकताको उपज हो।
भनेपछि प्रचण्ड जनतालाई ढाँटिरहेका छन्?
२०५२ सालमा हामीले हतियार उठाएका बेला एमाले नेतृत्वको सरकार थियो। युद्धको दौरान एमालेसँगको सम्वन्ध धेरै नराम्रो पनि भयो। एमालेका कारण धेरै ठूूलो क्षति भयो भन्ने कुरा त्यतिबेला हामीले मुल्याङ्कन पनि गरेका थियौं। अहिले आएर एमालेमा विलय हुनु भनेको के हो? एमालेमा जानु नै थियो भने त्यतिबेलै गइदिएको भए यत्रो क्षति त हुने थिएन। एउटा उद्देश्य देखाएर अर्कैतिर विलय हुनुलाई महान उपलव्धी ठान्नेहरुलाई जनताले राम्रोसँग बुझेका छन्।
एसिया प्यासिफिक समिटका विषयमा तपाईंको पार्टीको धारणा?
क्रिश्चियानिटीका लागि संसारभर प्रसिद्ध संस्थाले आयोजना गरेको कार्यक्रममा आयोजक बनेर प्रधानमन्त्रीले गरेको क्रियाकलाप लाजमर्दो छ। कानुनले समेत बन्देज लगाएको पुरस्कार थाप्नु अर्को गैरजिम्मेवारीपन हो। आयोजकले आफ्नो स्वार्थपूर्तिका लागि यस्ता क्रियाकलाप गर्छन् नै। एकाथरी हिन्दु कट्टरपन्थीहरु रामजानकी मन्दिरमा जन्ती ल्याउने नाममा अराजकता फैलाउँदैछन् भने अर्कोतर्फ क्रिश्चियनहरु उन्माद फैलाउँदैछन्। यसलाई रोक्नुको सट्टा प्रधानमन्त्रीले क्रिश्चियनहरुको पक्ष लिएर उपहार लिँदै हिडेर कस्तो खालको सन्देश दिन खोजेको हो।
इतिहासकै बलियो सरकार छ। अनि कसैलाई खुशी पार्न यस्तो सम्मेलन किन त ?
शक्तिशाली भएपनि यो एनजिओले बनाईदिएको हो। हामीले पहिलाभन्दा पत्याएनन्, अब थाहा भो शक्तिशाली कसले बनाइदिएको रहेछ भन्ने। उनीहरुले चुनावका वेला गरेको लगानी उठाएका हुन्। त्यसैका लागि पनि कार्यक्रम गर्न वाध्य पारियो। अर्को कुरा, एक लाख अमेरिकी डलरको पुरस्कारको लोभले पनि होला। यसलाई केही पनि होइन भनियो भने नेपाललाई धार्मिक उन्मादको केन्द्र बनाउने खतरा देखिएको छ ।
सरकारको दैनिक कार्य सम्पादनलाई कसरी हेर्नुु भएको छ?
एउटा बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाको वास्तविकता पत्ता लगाउन नसक्नुले सरकारको चरित्र स्पष्ट हुन्छ।
दोषी पत्ता लगाउन नसक्नु लाचारीबाहेक अरु के हुन सक्छ र? नेपाल प्रहरी धेरै सक्षम छ तर कुर्चीमा बस्नेहरुका कारण घटना बाहिर ल्याइएको छैन। अहिलेको सरकार नाम मात्रको कम्युनिष्ट हो। यो सरकारलाई जनताको पक्षमा केही गर्नु छैन। यसले जनयुद्ध लडेका शहिदप्रति अपमान गरेको छ। हत्या, हिंसा, बलात्कारका घटना बढेको छ। दैनिक जनजीवन अस्तव्यस्त छ।
महंगी कालोबजारी तथा निजीकरण मौलाएको छ। यसले पुँजीवादको वाटो समातेको छ, कोही भ्रममा नरहे हुन्छ। सत्ता संचालकमा न त कम्युनिष्टको विचार–दर्शन छ, न त संकल्प नै बाँकी छ। त्यसकारण यसबाट आश गर्नुको कुनै अर्थ नै छैन।
एउटै कम्युनिष्ट पार्टी बनाउने चर्चा पनि छ। तपाईंहरु पनि एकताको पक्षमा हो?
ओलीजी र प्रचण्डजीको झुट कुरा हो, त्यसको हामी भण्डाफोर गर्छौं। नेकपा भनेको नेपाली कांग्रेस, राप्रपा, राजपाजस्ता पूँजीवादी पार्टी हुन्, कम्युनिष्ट पार्टी नै होइन। त्यो ठूलो या सानो जे भएपनि कुनै अर्थ छैन।
तपाईंहरु आफूलाई सच्चा कम्युनिष्ट पार्टी दाबी गर्नुहुन्छ तर झनझन् सानो हुँदै जानु भएको छ नि?
कम्युनिष्ट आन्दोलन उतारचढावबाट अघि बढ्छ, पार्टी पनि त्यस्तै हो। रुसमा पनि त्यस्तै भएको थियो। अहिले नेपालमा कम्युनिष्ट क्रान्तिले ठूूलो धक्का खाएको छ। सफल हुन लागेका बेला नेतृत्वबाटै विश्वासघात हुँदा यस्तो अवस्था आयो। यो प्रतिक्रान्तितिर गयो। क्रान्तिले धक्का खाएको वेला क्रान्ति गर्ने पार्टी कमजोर हुनु स्वाभाविक छ। तर विचार र योजना छ भने अनुकूल परिस्थितिमा फेरि क्रान्ति अघि बढ्छ। त्यस्तो परिस्थिति निर्माणमा प्रचण्ड, ओलीजीले सहयोग नै गर्नु भएको छ। यस्तालाई भोट हालेर गल्ती गरिएछ भनेर जनताले नै भन्न थालेका छन्।