एक समय नेकपा माओवादी केन्द्रमा हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र नै मानिने गोपाल किराँती एमालेसँगको एकीकरणमा सामेल भएनन्। माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण भएर नेकपा गठन भएपछि किराँतीले पुनर्गठित नेकपा माओवादीलाई अघि बढाए।
महाधिवेशन आयोजक समिति भनि पुनर्गठन गरिएको माओवादीले जनयुद्ध दिवसका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा महाधिवेशन गर्दैछ। देशभरबाट करिब ३ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले नेतृत्व चयनदेखि बृहत कम्युनिष्ट एकताका लागि नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण नेतृत्वका पार्टीसँग एकताको प्रक्रिया अघि बढाउने संयोजक किराती बताउँछन्।
अहिलेको सरकारले कम्युनिष्टको नाम बद्नाम गरेको भन्दै केपी ओली र प्रचण्ड ज्योती बसुको नेपाली संस्करण भएको टिप्पणी गर्छन् किराती। उनै किराँतीसँग स्पेसखबरका लागि मुक्तिबाबु रेग्मीले जनयुद्ध दिवस र पार्टीको महाधिवेशनबारे गरेको कुराकानीको सम्पादित अंशः
-जनयुद्ध दिवस मनाउँदै गर्दा माओवादी आन्दोलन कहाँ पुुग्यो?
यो अहिले विकेन्द्रीत भएको छ। नेपाली कम्युनिष्ट आन्दोलनमा एकता र सुदृढीकरण फुट र विसर्जनको प्रक्रिया लामो समयदेखि चल्दै आएको छ। खासगरी माओवादी आन्दोलनमा अहिले फुट र विर्सजनको चरण सकियो। एकता र सुदृढीकरणको चरण शुरु भयो। त्यसका लागि वैद्य, विप्लव र हामी एकताका लागि छलफलमा छौँं।
-कम्युनिष्ट पार्टीहरुबीच एकताको कुरा गर्दा तपाईँ नै होइन नेकपा माओवादी केन्द्र र एमालेबीच एकीकरण हुँदा नगएको?
हो। किन भने माक्सबाद, लेनिनबाद र माओवादको सिद्धान्त त्याग्ने काम भयो। त्यहाँ छलफल गर्ने भनेर एउटा बुँदामा लेखेका त छन्। तर, एमाले पंक्तिले माओवाद यो दुनियाँमा मान्न सक्दैन। जनयुद्ध दिवस एमाले पंक्तिले यसकारण मान्दैछ कि, इतिहासको पुरानो विषय बन्यो। तर, माओवाद भनेको आउने दिनमा विज्ञानको विषय हो। त्यसैले माओवादी विज्ञान एमालेले मान्दैन भन्ने प्रष्ट बुझेर प्रचण्डसँग हामी गएनौँ। त्यसैले हामीले नेकपा माओवादी केन्द्र पुनर्गठन गरेर अहिले महाधिवेशनको अन्तिम तयारीमा छौं।
-अहिलेको पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईँको पार्टीले कसरी मूल्यांकन गरेको छ?
यो एमाले सक्किएर प्रचण्डको शक्तिसँग एकता भएको नभएर प्रचण्डहरु विग्रिएर एमालेसँग एकता भयो। त्यसलाई हामी दक्षिणपन्थी अवसरवाद र संसदीय विसर्जनवाद भन्छौँ। त्यसो गर्दा निम्न पूँजीवादी चिन्तन हावी छ। र त्यो निम्न पूँजीवादी चिन्तन प्रवृत्ति पूँजीवाद र दलाल पूँजीवादमा बदलिएको अवस्था छ। ओली र प्रचण्डको दुई तिहाई बहुमतको सरकारले कम्युनिष्टको बदनाम गर्ने काम गरेको छ।
-नेकपाका नेताहरु कम्युनिष्ट सरकारले राम्रो काम गरिरहेको दाबी गरिरहेका छन्। तर, तपाईँले कसरी कम्युनिष्टको नाम बदनाम भयो भन्ने आधार के हो?
यो त सरकारमा बसेकाले भन्ने एउटा कुरा हो। तर, जनमत के भनिराखेको छ भन्ने कुरा हामीले हेर्नु पर्छ। लोकतान्त्रिक गणतान्त्रिक स्वतन्त्र मुलुक छ अहिले। त्यसैले पछिल्लो समय अहिले भ्रष्टाचार व्याप्त छ। वाइडबडी प्रकरणमा अर्बौको भ्रष्टाचार, राष्ट्रपतिलाई महारानी बनाउने काम, अति विलासिताको भोगी बन्ने काम भएको छ।
यतिबेला हिजो जस्तो नभएर राष्ट्रपति पनि उनीहरुकै छ। बहुमत पनि छदैछ। प्रधानमन्त्री, मन्त्री सबै उनीहरुकै छन्। सरकारमा रहेको संघीय फोरम नगन्य हुन सक्छ। त्यो बेला पनि समाजवाद रोजौं यता भोट हालौं भनेर गत वर्ष जसरी नारा पिटेका थिए, खै त समाजवाद। फेरि पनि उनीहरुले कम्युनिष्ट नाम राख्या छन्। यो कम्युनिष्टहरुको बदनाम गर्ने खेल हो। हामीलाई के लाग्छ भने पश्चिम बंगालमा ज्योती बसुले जसरी कम्युनिष्ट पार्टीको नाममा शासन गरे तर, कम्युनिष्ट शासन भने गरेनन्। अन्त्यमा कम्युनिष्ट मासिए। नेपालमा ओली र प्रचण्डको हविगत पनि त्यही हुन्छ।
-त्यस्तो होला र?
प्रचण्डको सन्दर्भमा गरीब प्रचण्ड थिए। उनले जनयुद्धको नेतृत्व गरे हामीले सघायौं। तर, अहिले उनी असाध्यै धनी मात्र नभएर अभिजात वर्गमा रुपान्तरण भएका छन्। छोरीहरुलाई १५ करोडको घर व्यवस्था गरिदिए जस्ता कुराहरु मिडियाबाट हामी थाहा पाउँछौँ। त्यसैले प्रचण्डको सर्वहाराकरण यो दुनियाँमा सम्भव छैन। उनको पूँजीवादीकरण नै हो। त्यसैले यो कम्युनिष्टको बद्नाम गर्ने काम र ज्योती बसुको नेपाली संस्करण भनेर हामी बुझ्छौँ।
-२०५२ फागुन १ गते जनयुद्ध शुरु गर्दाको क्षण सम्झिँदा अहिले कतै पछुतो त लाग्दैन?
हामीलाई पछुतो छैन। जनयुद्ध गरेकोमा र जनयुद्ध दिवस मनाउँदै गर्दा गर्वको महशुस हुन्छ। अहिलेको नेतृत्व त मान्छे हो बदलिन सक्छ। केशरजंग रायमाझी एकीकृत नेकपाको २०१४ सालमा महासचिव भएका व्यक्ति हुन्। तर, पछि उनले राजासँग आत्मसमर्पण गरे। केशरजंग रायमाझी राजावादी भए भन्दैमा कम्युनिष्ट पार्टी गलत भन्न त मिल्दैन। त्यसैले हामीले जनयुद्ध गरेकोमा र दिवस मनाउँदा असाध्यै गर्व गर्छौँ। हाम्रो गौरबलाई स्थापित गरेर लैजान्छौँं। त्यसैले माओवादी जनयुद्ध इतिहास नभएका मान्छेले लडेका हुन्। यो गोपाल किराँतीको कुनै राजनीतिक इतिहास थिएन।
हामी इतिहास नभएका मान्छेले लडेर गणतन्त्र स्थापना गरेका छौँ। यसैले हामीले इतिहास निर्माण गरेका छौँ। यो हाम्रो विरासत हो। यसकारण हामी गर्व गर्छौँं। उता केपी ओली लगायत पुराना एमालेहरु त रुदैं रुदैं जनयुद्ध दिवस मनाउलान। उनीहरु खुसी हुन सक्दैनन्। त्यसैगरी प्रचण्डहरु अर्थात माओवादीहरुले दिल खोलेर जनयुद्ध दिवस मनाउन सक्दैनन्। माओवादको सिद्धान्त प्रचण्डहरुले भिरमा धकेल्नु भएको छ।
-अब महाधिवेशनको कुरा गरौं। तपाईँको पार्टीको महाधिवेशनको तालिका कस्तो छ?
जनयुद्ध दिवसका दिन हामीले आठौं महाधिवेशनको औपचारिक उद्घाटन गर्छौंँ। दुई, तीन र चार गते हामीले बन्द सत्र गर्छौं। बन्दसत्रमा पाँच–सात वटा नयाँ विषयहरु प्रस्ताव गरेका छौं। विचारको सवालमा, नेतृत्वको सवालमा, कार्यदिशाको सवालमा, नेपाली राज्य सत्तालाई हेर्ने सवालमा, नेपाली समाजलाई यो विकसित अवस्थाको विषयमा र माओवादी शक्तिहरुबीच एकता गर्ने विषयमा छलफल हुन्छ। हाम्रो उद्देश्य भनेको माओवादी पार्टीहरु एकै ठाउँमा आएर शक्तिशाली कम्युनिष्ट पार्टी स्थापना गर्ने हो। यही उद्देश्यले सवैलाई आह्वानसहित यो महाधिवेशन गर्दैछौँ।
-महाधिवेशनका मुख्य एजेण्डा के छन्?
हाम्रो महाधिवेशनले २ वटा कुरालाई मुख्य जोड दिन्छ। एउटा त स्थानीय वर्ग संघर्षको कार्यक्रम हामी बनाउने गरी प्रस्ताव पेश गर्दैछौँं। यसैगरी ८ सय जिल्लाको नयाँ नेपाल बनाएर स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्छ भनेर २०६५ सालमा म मन्त्री भएका बेला मैले ल्याएको विचार हो। अहिले त्यो जिल्ला नभनिए पनि ७५३ वटा स्थानीय तह भएका छन्। त्यो हाम्रो विचार हो। यसलाई हामी समृद्ध र सशक्त बनाउन चाहन्छौँं। त्यसका लागि राज्यको ७० प्रतिशत बजेट स्थानीय तहमा हुनुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र खाद्य सम्प्रभुता दिन सक्ने स्थानीय सरकार हुनुपर्छ भनेर हाम्रो पार्टी केन्द्रित हुन्छ। अर्को कुरा, माओवादीबीचको एकताबारे घनिभूत छलफल गर्छौं।
-टुक्रिएका माओवादी पार्टीहरुबीचको एकताका लागि को–कोसँग छलफल गरिरहनु भएको छ?
गत असार–साउनमा हामीले नेत्रविक्रम चन्द विप्लवसँग छलफल गरेका थियौं। मोहन वैैद्यजीहरुसँग लगातार छलफलमा छौँं। तर, हामीले के भनेका छौं भने यो महाधिवेशन हामीले गर्नु पर्ने बाध्यता छ। किन भने हामी महाधिवेशन आयोजक समिति हौं।
प्रचण्डहरुले छाडेकाले उनीहरुले गर्नु परेन हामीले गर्नु परेको हो। फागुन १ गतेसम्म हामी आन्तरिक काममा लाग्छौं र त्यसपछि ठोस छलफल गर्ने कुरा हुँदा उहाँहरुले सहमति जनाउनु भएको छ। यो महाधिवेशनपछि ठोस छलफल अगाडि बढ्छ।
-महाधिवेशनपछिको नेतृत्व पनि तपाईँकै हुन्छ?
त्यो त अहिले भन्न सकिन्नँ। ३ सय बढी प्रतिनिधि तोकिएको छ। उनीहरुसँगको छलफलपछि नेतृत्व चयन हुन्छ। अहिलेको अवस्थालाई व्यवहारिक पक्षमा मूल्यांकन गर्दा हामी नै जस्तो देखिन्छ।