अहिले मुलुकमा कर आतंकले गाउँगाउँका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरु त्रसित हुनुहुन्छ। अहिले दोहोरो–तेहेरो कर गाउँका ती गरिब जनताले तिर्नु परेको छ। करको दायराभित्र गरिब बस्ती परेको छ। गरिबीको रेखामुूनी रहेका महिलाहरु, दलितहरु, मधेसीहरु, सरकारबाट केही नपाएकाहरु, अहिले करको दायराभित्र आफ्नो त्रासपूर्ण जीवन बिताउनु परेको छ।
हामीले विहानै सुनिराखेका थियौ, अर्थमन्त्री डा. युवराज खतिवडाले भन्दै हुुनुहुन्थ्यो–‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउनका लागि हामी वितरण गर्न सक्दैनौं, उत्पादनलाई बढावा दिन चाहन्छौं। म प्रश्न गर्न चाहन्छु–ठीकै छ नेपाली गरिबीका रेखामुनी रहेका, जसलाई करको दायरामा ल्याइएको छ। त्यो सानो पुँजी खर्च गर्ने जनताको उत्पादनका लागि राज्यले के लगानी गरेको छ? कुन ठाउँमा त्यो क्षमतालाई अभिबृद्धि गर्न कहाँ रोजगारको सृजना गरेको छ? यो कुरा पहिले सरकारले सदनलाई जानकारी दिन जरुरी छ।
करका दायराका कुरा आउँदै गर्दा कञ्चपुरको नगरपालिकामा त्यहाँका दिदीबहिनीले गाईँको दुध लिएर बजारमा केही उत्पादन गर्छु भन्दै गर्दा ५ हजार कर लगाएर ती दिदीबहिनीहरुले गाईँलाई नगरपालिकाभित्र हुल्न बाध्य भए। त्यहाँ बाँच्न पाउने अधिकार, आफ्नो घरका आश्रित परिवारलाई पाल्नका लागि बञ्चित गराएका उदाहरण हामीले देखिराखेका छौं। त्यतिमात्रै होइन सानो–सानो पुँजीबाट उत्पादन गर्ने पानीपुरी चना–चटपटे बेच्नेलाई लगानी दिन त कहाँ छ कहाँ? त्यहाँ पनि कर लगाएर उनीहरु भाग्नुपर्ने अवस्था राज्यले सिर्जना गरेको छ।
हामी देखिराखेका छौं, तुइनमा हिड्नका लागि एउटा महिला दिदीबहिनी, साग,मकै बेच्न तुइनमा जाँदै गर्दा १० रुपैयाँ तिर्नुपर्ने, घरको छोरी स्कुल जाँदै गर्दा १० रुपैयाँ तिर्नु पर्ने, एउटा महिलालाई आत्मनिर्भर बनाउनका लागि एउटा छोरीलाई स्कुल जानु पर्ने न्यूनतम आवश्यकता हो। तर, तुइनमा पनि कर लगाउने र दैनिक तुइनमा पनि २० रुपैयाँ तिर्नु पर्यो। घरका छोरी स्कुल जानुपर्ने तर, अहिले करकै कारण छोडाउनुपर्ने स्थिति सरकारले सिर्जना गरिदिएको छ।
त्यतिमात्रै होइन पुलमा हिड्नका लागि ड्राइभरले ५० रुपैयाँ तिर्नु पर्ने, कर्मचारीलाई तलबमा २५ प्रतिशत कर लगाउने, नागरिक लगानी कोषमा पनि कर लगाउनुपर्ने? गाँस, बाँस, कपास र यातायात भनेको मौलिक हक हो। यसमा कुनै पनि कर लगाउनु हुँदैन।
तर, आज देखिएको छ–‘सुखी नेपाली समृद्ध नेपाल’ होइन नेपालका जनता जानकारी चाहन्छ–मौलिक हकमा कर लगाउनु राम्रो हो?
-भुसालले संसदकाे विशेष समयमा व्यक्त गरेका विचारकाे सम्पादित अंश