२०७५ असार २३ गते। केही साथीको बोर्डिङ पासको काम सकिइसकेको थियो । उपकुलपति प्रा. डा कुलप्रसाद कोइरालाको ब्यागमा पनि ट्याग लागेर भित्र पठाइसकिएको थियो । उपकुलपतिपछि मैले मेरा सामान दिएँ । तिनमा पनि ट्याग लागेर भित्र गए । बोर्डिङ पास आयो ।
विमानस्थलको प्रक्रिया सबैले पूरा गरे । हामी क्यानडामा आयोजित १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै थियौं । भ्रमण दलमा उपकुलपतिसहित म, गणेश घिमिरे, लेख निरौला, प्रेमराज न्यौपाने र केशव कोइराला रहेका थियो । विमानस्थलको प्रक्रिया चलिरहँदा मेरो कानमा परेको थियो, ‘हजुरसँग अलिकति कुरा गर्नुछ, हजुर नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति हैन ?
मैले यसको भेउ पाउँदा–नपाउँदै बर्दिधारी चार प्रहरीले एक्कासी उपकुलपतिलाई घेरे । म उहाँसँगै थिएँ । झस्किएँ । उनीहरूले प्रश्न गरिसकेपछि उहाँलाई घेरेर लगे । म पिछा गर्दै गएँ । थाहा लाग्यो उहाँलाई विशिष्ठ कक्षमा केही प्रश्न गरी प्रहरीले अज्ञातस्थलतिर लगेछन् । प्रेमराज न्यौपानेलाई पनि डाकेँ । त्यसपछि हामी सबैलाई विशिष्ट कक्षमा एकघण्टा राखेर छाडे । उपकुलपतिलाई पक्राउ गरियो भनेर थाहा भइहाल्यो । मैले विरोध जनाएँ । प्रहरीले भने ‘हामीले प्रधानमन्त्री कार्यालयको आदेश पालना गरेका हौं, अरू हामीलाई केही थाहा छैन’ ।
यसपछि मैले राजधानीबाट प्रकाशित केही दैनिक पत्रिकासँग सम्पर्क गरी घटनाबारे जानकारी गराएँ । जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोख्रेलले विमानस्थलमा उपकुलपतिलगायत टीमका हामी सबै सदस्यलाई टीका र फूलमाला लगाइ बिदाई गर्नुभएको थियो । त्यसैले मैले डा. पोख्रेललाई पनि यसबारे अवगत गराइसकेको थिएँ । यिनै उत्तेजना, खिन्नता, प्रश्न र १९ औं विश्व संस्कृत सम्मेलन नेपालमा नहुने भो भन्ने चिन्ता लिएर हामी गन्तव्यतर्फ उड्यौं ।
०००
प्रातःकालीन चम्चमाउँदो अरुणोदयका साथ हामी ६ बजे कोरियाको विमानस्थल उत्रियौं । उपकुलपतिलाई पक्रेर विश्व संस्कृत सम्मेलनमा भाग लिन जान नदिएकोमा प्राध्यापक संघको सभापतिका नाताले फेसबुक स्ट्याटसमार्फत् विरोध वक्तव्य जारी गरें । पछि थाहा भयो उपकुलपति पक्राउ काण्डले सनसनी मच्चाएको रहेछ काठमाडौंमा । उहाँले पनि पत्रकार सम्मेलन नै गरेर विरोध जनाउनुभएछ । एक हप्तासम्म नेपाल र विदेशमा समेत उपकुलपति पक्राउ काण्डले चर्चा पाइरह्यो ।
असार २४ गते बेलुका ७ बजे हामी क्यानडाका लागि प्रस्थान गर्याैं । असार २५ गते क्यानडाको समयअनुसार बिहान ७ बजेदेखि नाम दर्ता र चियापान गरी ९ बजे आइएएसएसका अध्यक्ष प्रा.डा. कुटुम्बशास्त्रीको अध्यक्षतामा भ्यानकुवर महानगरमा रहेको ब्रिटिस कोलम्बिया विश्वविद्यालयको विशिष्ट सभाकक्षमा भारतका मानव संसाधन मन्त्री प्रकाश जावडेकरले सम्मेलनको उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्यमा उहाँले भाषा, दर्शन, धर्म, सभ्यता र संस्कृति निर्माणमा संस्कृतको महत्वपूर्ण प्रभाव रहेको उल्लेख गर्दै संस्कृत वाङ्मयको विश्वव्यापी महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।
सम्मेलनमा १ सय १० देशका प्रतिनिधिले भाग लिएका थिए । ६ सय कार्यपत्रमा १ हजार २ सय प्रतिनिधि सहभागी थिए । प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म कार्यपत्र प्रस्तुति गरिएको थियो, १५ वटा सभाकक्षमा । नेपालका तर्फबाट ९ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । मैले ‘आधुनिक संस्कृत’ विषयक्षेत्रमा ‘नेपालस्य साम्प्रतिकं संस्कृतम्’ विषयक कार्यपत्र विशेष प्रस्तुतिका रूपमा राख्ने अवसर पाएको थिएँ । संस्कृत कवि सम्मेलनमा संस्कृत कविता प्रस्तुत गर्ने अवसर पनि प्राप्त भएको थियो । प्रत्येक दिन बेलुका ७ देखि १० बजेसम्मको सायङ्कालीन प्रस्तुतिमा संस्कृत नृत्य, गीत, वाद्यवादन र संस्कृत नाटक आदि रहेका थिए ।
असार २९ गते शास्त्रचर्चा र कविगोष्ठीको विशेष प्रस्तुतिसहित विभिन्न कक्षमा अवशिष्ट कार्यपत्रपछि समापन गरिएको भयो । असार २९ गते आइएएसएसको साधारण सभा अध्यक्ष प्राडा. कुटुम्बशास्त्रीको सभापतित्वमा फ्रेडरिक उड थिएटरमा शुरु भयो । कोषाध्यक्ष प्रो. गोर्जे पिनल्टले आर्थिक प्रतिवेदन र महासचिव जयन्द्र सोनीले सन् २०१५ यताका मुख्य सांगठनिक सन्दर्भहरू प्रस्तुत गर्नुभयो । त्यसमा १६ औं विश्व संस्कृत सम्मेलनपछि दिवङ्गत हुने विभिन्न देशका संस्कृतका विद्वान्हरूको स्मृति र सम्मानमा उठेर १ मिनेट मौन धारणा गरिएको थियो । विभिन्न देशका उल्लेख्य रूपमा काम गरेका संस्कृतका विद्वान्हरूको नामावलीमा नेपालका विद्यावचस्पति शिवराज आचार्यको नाम पनि थियो।
नेपालका विद्वान्को सम्मान र स्मृतिमा विश्वले शिर झुकाउँदा हाम्रो छाति गर्वले फुलेर उच्च भइरहेको थियो । पदलाई विश्वले मान्दो रहेनछ, विद्यालाई मान्दो रहेछ भन्ने सत्यबोधले हामी रोमाञ्चित थियोैं । १७ औं सम्मेलनले विभिन्न देशका विश्वविद्यालयका ४ जना प्राध्यापकको एक प्यानल गठन गरेको छ । त्यस प्यानलमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपप्राध्यापक हाल अक्सफोर्डका प्राध्यापक रहेका दिवाकर आचार्य रहेका छन् भने अष्ट्रेलिया, अमेरिका, फ्रान्सका गरी जम्मा पाँचजना प्राध्यापक रहेका छन् । आइएएसएस कार्य समितिमा नेपालका तर्फबाट प्रा.डा. काशीनाथ न्यौपाने चुनिनुभएको छ ।
१८ औं विश्व संस्कृत सम्मेलन अष्ट्रेलिया र १९ औं सम्मेलन नेपालमा गर्ने निर्णय भएको छ । २० औं विश्व संस्कृत सम्मेलन आयोजना गर्न चाहने देशलाई प्रस्ताव आह्वान गर्ने निर्णय भयो । सम्मेलनले विश्व संस्कृत समाजलाई जोडेको छ भने परस्परका ज्ञान, अनुभव, अनुसन्धान र उपलब्धिलाई साटासाट गर्ने अवसर पनि प्रदान गरेको छ ।
११० देशका सयौं विश्वविद्यालयमा संस्कृतको पठनपाठन हुने गरेको कुरा पनि सम्मेलनबाट थाहा भएको छ । ६०० कार्यपत्रमाथि बौद्धिक छलफल भएको छ र विद्वान्हरू बौद्धिकताको कसीमा घोटिएका छन् । परस्पर सिक्ने, प्रभावित र उत्प्रेरित हुने, ज्ञान र विज्ञानको समन्वय गर्ने अवसर पनि प्राप्त गरेका छन् । विश्व संस्कृत अभियानले एउटा गतिलो प्रकाश, गन्तव्य र शिखर प्राप्त आरम्भ गरेको छ ।
०००