बुटवलको फुलबारीमा रहेको भारतीय भूतपूर्व सैनिक क्याम्पमा बम विस्फोट भएको छ।
गएराति भएको बम विस्फोटले शौचालयमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल बहादुर मल्लले घटनाको पुष्टि गर्दै शौचालयमा धेरै क्षति भए पनि मानवीय क्षति नभएको बताए।
डिएसपी मल्लले बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भैरहेको बताए।
यसैगरी, रुपन्देहीको सैनामैनामास्थित राजमार्गमा मगलबार विहानै शंकास्पद वस्तु फेला परेको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा उक्त बस्तु फेला परेको हो।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्यालका अनुसार विहानै शंकास्पद वस्तु भेटिएपछि अनुसन्धान भइरहेको हो।
यसैबीच, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दले प्रदेश ५ को राजधानी बुटलको जनजीवन प्रभावित भएको छ।
विहानै देखि छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन। बजार, उद्योग धन्दा , तथा शिक्षण सस्था पूर्ण रुपमा ठप्प रहेका छन। तर, निजी दुई पाङग्रे सवारी साधन भने छिटफुट चलेका छन्।
बुटवलका चोक चौकमा सयौ सवारी सधनहरु सडकमा अलपत्र परेका छन्। गन्तव्यमा निस्किएका सवारी साधनहरुलाई प्रहरीले नै रोकेपछि उनीहरु अलपत्र परेका हुन्।
पार्टी प्रवक्ता खड्गबहादुर विकसहित तीन नेतालाई पक्राउ गरिएको भन्दै बन्द आह्वान गरिएको हो।