प्रदेश नम्बर ३ को राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं आउने जाने बाटो निर्माणमा भइरहेको ढिलाइबारे ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आक्रोश ब्यक्त गरेका छन्।
केही समयअघि स्थलगत निरीक्षण गरेर फर्केका मुख्यमन्त्री पौडेलले शुक्रबार सम्बन्धित मन्त्री तथा सरोकारवाला निकायको बैठक राखी तत्काल निर्माण तथा मर्मत गर्न निर्देशन दिएका छन्। उनले हेटौँडा हुँदै कुलेखानी–फाखेल–काठमाडौँ र हेटौँडा हुँदै कुलेखानी सिस्नेरी–काठमाडौँ सडक खण्ड यथाशीघ्र छिटो निर्माण र मर्मत गर्न पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई निर्देशन दिएको हुन्।
मुख्यमन्त्री कार्यालयमा आयोजित बैठकमा हेटौँडा–फाखेल–काठमाडौँ खण्डमा तत्काल गर्न सकिने मर्मतसम्भार र सुधारका कामको प्राविधिक लागत अनुमान ७ दिनभित्र तयार पार्ने निर्णय भएको छ । यसको अगुवाई भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने गरी व्यवस्था मिलाइएको ३ नं प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ।
त्यसैगरी हेटौँडा–सिस्नेरी–काठमाडौँ र हेटौँडा–फाखेल–काठमाडौँ सडकमा मर्मत तथा निर्माणका लागि भएका ठेक्का कार्यान्वयन प्रक्रियाबारे तत्काल सम्बन्धित मन्त्रालय र निकायले मुख्यमन्त्री कार्यालयमा प्रगति पेश गर्ने र बदमासी गर्ने ठेकेदारलाई कारबाही गर्ने निर्णय समेत भएको ३ नं प्रदेशका मुख्यमन्त्री कार्यालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, प्रमुख सचिव प्रदेश नं ३ का आनन्दराज ढकाल, सचिव रमेश शिवाकोटी, भौतिक पूर्वाधार सचिव, प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, मकवानपुरका प्रहरी प्रमुख बुद्धिराज गुरुङ, सडक डिभिजन कार्यालय काठमाण्डौ र मकवानपुरका पदाधिकारीहरु र जिल्ला प्राविधिक कार्यालयका पदाधिकारीको सहभागिता रहेको थियो।
हेटौँडा–कुलेखानी–फाखेल खण्डमा १ हजारभन्दा बढी टाटासुमो सञ्चालनमा छन् । त्यसैगरी हेटौँडा–सिस्नेरी–काठमाडौँ खण्ड निर्माणाधीन छ । मुख्यमन्त्री पौडेलले त्यस खण्डमा अनुगमन गरी ठेकेदारको कामबारे असन्तुष्टि जनाएका थिए । सो बाटो निर्माण क्रममा ठेकेदारले लापारबाही गरेको र बेवास्ता गरेको भन्दै स्थानीय समेत आक्रोशित छन्।