उच्च अदालत बार एसोसिएसन पोखरामा रोहितराज बास्तोलाले नेतृत्व गरेको लोकतान्त्रिक समूह विजयी भएको छ । अध्यक्षमा बास्तोलाले २ सय ४१ मत पाए । पेसागत प्रगतिशील संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार जनकल्याण पराजुलीले१ सय ३५ मत ल्याए ।
निर्वाचन संयोजक मुकुन्दराज अर्यालका अनुसार बिहान ८ बजे सुरु भएको मतदान ४ बजे सकिएको थियो । परिणाम साँझ ८ बजे ४ सय १८ मतदाता रहेकोमा ३ सय ८९ मत खसेको थियो ।
विजयी हुनेमा उपाध्यक्षमा उत्तम केसी(२२६), सचिवमा विनोद रेग्मी(२५१), सहसचिवमा मीनाकुमारी रानाभाट (२२६), कोषाध्यक्षमा माधवी पाण्डे (२४५) छन् । सदस्यमा दुर्गा कोइराला (२४५), लेखनाथ सापकोटा(२२९), हरिबहादुर भुजेल(२२७), सन्तोषमणि लामिछाने (२१९), दीपेन्द्र अर्याल(२२४), ईश्वर चिलुवाल(२४०), गीताकुमारी लामिछाने (२४२) र हेमराज बराल (२४१) विजयी भए ।
पेसागत प्रगतिशील संयुक्त प्यानलबाट उपाध्यक्षमा भुवन पराजुली काफ्ले, सचिवमा धनबहादुर रानाभाट, सहसचिवमा निर्मला सुवेदी र कोषाध्यक्षमा कल्पना भण्डारीले उम्मेदवारी दिएका थिए । उक्त प्यानलबाट सदस्यमा डिपी अधिकारी, डिल्लीराम अधिकारी, दीपक शर्मा पौडेल, गेज शर्मा, जीवनाथ शर्मा, तीलकप्रसाद कोइराला, सुष्मा पौडेल र मात्रिका लामिछानेले उम्मेदवारी दिएका थिए ।
अध्यक्षमा विजयी रोहितराज बास्तोलाले अब आफूहरु स्वतन्त्र न्यायपालिकामाथि सरकारको हस्तक्षेप रोक्न हामी सशक्त रुपमा जुट्ने प्रतिबद्धता जनाए । उनले भने,‘यसका विरुद्ध मेरो नेतृत्वको टिमले प्रदेशबाट कडा आवाज उठाउँछ ।’
भदौ १ बाट लागु भएको नयाँ संहिता न्यायालय र कानुन व्यवसायिका लागि लागि ठूलो चुनौतीको विषय बनेको उनले बताए ।नवप्रवेशी कानुन व्यवसायीलाई समेत व्यवहारिक तालिम दिनुको साथै बार र बेञ्चको सम्बन्ध अझ सुमधुर बनाउने प्रतिबद्धता उनले जनाए ।