गण्डकी सरकारले सोमबारदेखि ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन, एसएमएस, फ्याक्स, इमेलबाट गुनासो लिइने र विषयको गाम्भीर्यताको आधारमा सम्बोधन गरिने बताए। उनले भने,‘नागरिककका समस्या सुनुवाईका लागि हामीले यो कार्यक्रम थालेका हौं, यसलाई प्रभावकारी बनाउँदै लैजाने छौं।
हेलो मुख्यमन्त्री कक्ष उद्घाटन लगत्तै मुख्यमन्त्री गुरुङ जब कुर्सीमा बसेका थिए, पोखरा १ सिम्पानीका कृष्ण पौडेलले प्रश्न तेस्र्याए। उनले मुख्यमन्त्रीसँग ३ वटा प्रश्न राखे। पहिलो थियो, पोखरा आउने पर्यटकको सुरक्षा कसरी गर्नु हुन्छ? दोस्रो प्रश्न थियो– पर्यटन प्रवद्र्धनको लागि के गर्दै हुनुहुन्छ? र अन्तिम प्रश्न थियो– पर्यटकको बसाइ लम्ब्याउन के योजना छन्?
पश्चिममा रामदी र पूर्वमा डाँडाको नाममा पर्यटक सूचना केन्द्र स्थापना गरी पर्यटकको रेकर्ड राख्ने, उनीहरु कहाँ जाँदैछन् भन्ने रेकर्ड लिइ त्यही अनुसार सुरक्षा प्रदान गरिने मुख्य मन्त्रीको भनाइ थियो।
पोखरामा रहेका पर्यटकीय क्षेत्रलाई अझ आकर्षक बनाउने, काहुँडाँडामा बुद्धमण्डला, पुम्दीभुम्दीमा शिवजीको विशाल मुर्ति, सराङकोटलाई अझ आकर्षक बनाउँदै लैजाने योजना उनले सुनाए । पोखरामा गुणस्तरीय होटेल थपेर त्यही अनुसारको मनोरञ्जन दिलाउन सकेको खण्डमा पर्यटकको बसाइ लम्बिने उनको भनाइ थियो ।
हेलो मुख्यमन्त्रीमा दोस्रो कल थियो, पोखरा नदीपुरका उपेन्द्र पौडेलको । उनले प्रश्न नराखे पनि गण्डकी प्रदेश सरकारले नागरिकको गुनासो सुन्न थालेको यो कार्यक्रमको स्वागत गर्दै सफलताको सुभकामना दिए । नागरिकका सुझाव, सल्लाह, गुनासो सम्बोधन गर्न कार्यक्रम सुरु गरिएको बतउँदै प्रमुख सचिव नारायणप्रसाद बिडारीले तत्कालका लागि अफिस समयमा मात्रै यो सेवा उपलब्ध भए पनि छिटै २४ सै घन्टा सञ्चालनमा ल्याइने उल्लेख गरे।
यसका लागि पैसा नलाग्ने टेलिफोन नम्बर १०९४ प्रयोग गरिएको छ। हेलो सिएम एन्ड्रोइड एप डाउनलोड गररे त्यसैबाट समेत गुनासो टिपाउन सकिने छ । हेलो मुख्यमन्त्री कार्यक्रमको वेबसाइट हेलो सिएम डट गण्डकी डट जिओभी डट एनपी hellocm.gandaki.gov.np वा [email protected] मा मेल गरेर गुनासो टिपाउन सकिने छ।