बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै अान्दाेलनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा कञ्चनपुरको भीमदत्त बजार तनाबग्रस्त बनेको छ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर चार जना घाइते भएका छन्। प्रहरीको गोली लागेर कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरिया र कञ्चनपुरको भासिका तेज भट्ट घाइते भएका छन्।
बिहीबार बिहानैदेखि स्थानीयवासी, व्यापारी, विद्यार्थी लगायतले हत्याको बास्तविक छानबिन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। आन्दोलनका कारण विद्यालय, बजार, यातायात पूर्णरुपमा बन्द छन्। गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो।
प्रहरीले गत सोमबार हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपनि उनी बास्तविक हत्या नभएको बताउँदै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन्।
मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई हत्यारा भनेको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन्।