प्रदेश २ सरकार र संघीय सरकार मातहत रहेका कार्यालयबीच दोहरी चलेको छ। आइतबार प्रदेश सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको सार्वजनिक बिदालाई फेरि पनि नेपाल राष्ट्र बैंकले अटेरी गरेको छ।
संघीय सरकार मातहत रहेको राष्ट्र बैंकले आधिकारिक बिदा नभएको भन्दै बिदा दिन अस्वीकार गरेपछि प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालय प्रमुखबीच जुहारी चलेको हो। यसअघि प्रदेश सरकारले इस्लाम धर्माबलम्बीको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिएको थियो।
तर, प्रदेश २ मा रहेका संघीय सरकार मातहतका सरकारी कार्यालयहरुले बिदा कार्यान्वयन गरेनन्। यसैगरी जनैपूर्णिमा तथा रक्षा बन्धनको उपलक्ष्यमा पनि प्रदेश सरकारले दिएको सार्वजनिक बिदा राष्ट्र बैंकले पालना नगरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले आफैले बैंकमा तालाबन्दी गरेका थिए।
संघीय सरकार मातहत रहेका राष्ट्र बैंक खुलेको भएपनि अन्य सरकारी कार्यालयहरु भने आइतबार बन्द नै छन्।