प्रदेश २ सरकार र संघीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैंकबीचको विवाद उत्कर्षमा पुगेको छ । कृष्णाष्टमीको अवसरमा प्रदेश सरकारले दिएको सार्वजनिक विदालाई अटेरी गरेपछि प्रदेश सरकार र जनकपुरस्थित नेपाल राष्ट्र बैंकबीच विवाद उत्कर्षमा पुगेको हो ।
प्रदेश सरकारले दिएको सार्वजनिक विदा नमानेका राष्ट्र बैंक बिरुद्ध आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव अदालतमा मुद्दा दर्ता गराउने तयारी गरेका छन् ।
नेपालको संविधान, कानून र प्रदेश सरकारको निर्णयलाई समेत अवज्ञा गरेकाले कानूनी उपचार खोज्न अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो । ‘प्रदेश सरकारको निर्णयलाई अटेरी गरेको नेपाल राष्ट्र बैंकलाई कानुनी दायरा भित्र ल्याउछौँ ।’ स्पेसखबरसँग कुराकानी गर्दै मन्त्री यादवले भने, ‘ कानुको उलङ्घन गरेको बैंकलाई कानुनी हिसाबले कार्वाही गर्ने तयारीमा र्छौँ, छिट्टै अदालतमा मुद्दा दर्ता गराउँछौँ ।’
राष्ट्र बैंकले विदा दिन अस्वीकार गरेपछि करिब साढे १२ बजेदेखि ५ बजेसम्म मन्त्री यादव बैंक अगाडी धर्नामा बसेका थिए । सोही क्रममा बिदालाई अटेरी गरेका कार्यालयहरु बन्द गराउन हिँडेका १२ जना विद्यार्थीहरुलाई समेत प्रहरीले पक्राउ गरेका थिए ।
केही समयपछि उनीहरुलाई प्रहरीले रिहा गरेको थियो । संघीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैंक प्रदेश सरकारले दिएको विदा मान्ने गरेको छैन् । यसअघि भदौ १० गते जनैपुर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश सरकारले दिएको सार्वजनिक विदा राष्ट्र बैंकाकले पालना नगर्दा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव स्वयंले तालाबन्दी गरिदिएका थिए ।