महोत्तरीका एक सरकारी कर्मचारीले दलित समुदायहरुलाई बैदेशिक रोजगारीको नाउमा ठगी गरी यातना दिने गरेको खुलेको छ । जिल्ला अदालत महोत्तरीमा खरिदार पदमा कार्यरत राज करण साहले जिल्लाको भङ्गहा नगरपालिकाको दलितहरुलाई मुद्दाको नाउँमा यातना दिएको रहस्य बाहिर आएको हो ।
वैदेशिक रोजगारीमा पठाउने एजेन्टको समेत काम गर्दै आएका साहले भंगहा ५ सितापुरका मुसहरहरुलाई ठगेर उल्टै अदालतमा मुद्दा चलाएपछि पिडितहरु न्यायका लागि पत्रकारहरुलाई गुहारेका छन् । उनीहरु जनकपुरमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुलाई त्तकाल पुरा पैसा नभएपछि केही रुपैंया मात्र एजेन्टलाई दिएको र तमसुक बनाएर बाँकी पैसा एजेन्टले नै तिरेर विदेश पठाएको बताए । तर, केही दिनपछि आफुहरुले विदेशमा कमाएर पैसा पठाएको र पैसा चुक्ता गरिसक्दा पनि समेत विदेशबाट फर्केर आउदा पैसा मागि रहेको दुखेसो पोखेका छन् ।
भङ्गहा नगरपालिका ३ सीतापुरका जलधारी यादवले आफूलाई अदालतका कर्मचारी तथा गाउँले राजकरण साहले १ लाख १० हजारमा साउदीमा वैदेशिक रोजगारीमा पठाएको र बाँकी रहेका ३५ हजार पनि विदेशवाट आएपछि बुझाउदा कागज फाडेको तर अहिले ४० हजार बाँकी रहेको भन्दै मुद्दा दिएको कारणले आफू निक्कै पिडित भएको बताए ।
उनी मात्र होईन सोही वडाका रिता देवी मुसहरका श्रीमानलाई १ लाख २० हजार लिएर कतार पठाएको र शर्त अनुसारको तलव नदिएपछि फर्किआएको बताउदै अहिले रकम बाँकी रहेको भन्दै धाकधम्की दिने गरेको बताए । जीत कुमार सदा पनि साहवाट पिडित भएका छन् उनले पनि रोजगारीमा जाँदा मागे जतिको रकम दिएपनि अहिले थप २५ हजार माग गरिरहेको बताए ।
तर कृष्ण सदाको ठगी अर्कै किसिमको रहेको छ । साहले सीतापुर भङ्गहाका ८ क को १ कठा जग्गा डेढलाखमा विक्रि गरेको र आफूले मागे जतिको डेढ लाख रकम दिएपनि साहले २०६८ साल देखि जग्गा नामसारी नगरेको बताए । अहिले भङ्गहाका डेढ दर्जन व्यक्तिहरु राजकरण साहको डरत्रासमा बाँच्ननु परेको छ । उनीहरुले आफूहरुले अड्डा अदालतको चक्कर बारेमा थाहा नभएको भएपनि अहिले मुद्दा दिएर दुःख दिने काम गरेको बताए ।