उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनकाे जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको जिकिर गरे ।
रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताउँदै पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तेस्तै ल्याउनुपर्ने माग अनुचित भएको पनि बताए । संसद्मा प्रतिपक्षद्वारा विधेयक टेबुल गर्न नदिनु अधिनायकवाद भएकाे टिप्पणी गरे ।
रक्षामन्त्री पोखरेलले स्वास्थ्य विधेयक सम्बन्धमा वार्ता गर्न वर्तमान सरकार खुल्ला रहेको बताउँदै यसलाई विधि र प्रकियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।