मनहरी–महिलाहरुको महान् पर्व तीजको अबसरमा महिला तथा किशोरीहरुले तीजगीतमार्फत बाल विवाह र बालश्रमविरुद्ध आवाज उठाएका छन् ।
सामान्यतः महिलाहरु आफ्ना दैनिकीका दुःख पीडाका गीतहरु गाउँदै रमाउने गरेको अभ्यासलाई यसपटक मनहरी गाउँपालिकाका महिला तथा किशोरीहरुको सहभागितामा चेतनामूलक बनाउने प्रयास गरिएको हो । मनहरी ७ स्थित मनकामना मन्दिर परिसरमा गाउँ बाल संरक्षण समितिद्वारा आयोजित तीज गीत प्रतियोगितामा बालविवाह र बालश्रमविरुद्ध गीत प्रस्तुत भएको हो ।
गीतमा किशोरीहरुले बलात्कार सहनुपरेको व्यथालाई प्रस्तुत गर्दै १३ बर्षकै उमेरमा बिबाह भएको र विवाहपछि पनि किशोरीले छोरी जन्माएपछि घरबाट निकाला भएका दर्दनाक कथाहरु गीतमार्फत प्रस्तुत गरेका थिए ।
५ वटा टिम सहभागी भएको प्रतियोगितामा प्रगति संवाद समूह, द्वित्तीय सुमधुर संवाद समूह, तृत्तीय सगरमाथा संवाद समूह भएको थियो । राष्ट्रिय संवाद समूह र संयुक्त निगरानी समूह सान्त्वना भएको थियो । प्रथम, द्वित्तीय र तृत्तीय हुने टिमलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
सान्त्वना हुनेहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकामा २० बर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने सन्देशलाई कार्यान्वयन गर्न विवाह निमन्त्रणा कार्डमा समेत जन्ममिति उल्लेख गर्नुपर्ने नियम लागू गराउन लागिएको बताए । उनले आगामी दिनमा होटलहरुमा हुने बाल श्रम र बाल विवाहको घटनालाई रोक्न सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा माइती नेपालकी संयोजक माया लामाले स्वागत गरेकी थिइन् । निर्णायकहरुमा मृगतृष्णा कला साहित्य डबलीका पूर्व अध्यक्ष गोविन्दप्रसाद पौडेल र गायक बुद्धिमान घिसिङ रहेका थिए । सोही कार्यक्रममा नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, सुन्दर लामा, कुमार चेपाङ, सुजन चेपाङ, रीता चेपाङ लगायतले प्रस्तुति दिएका थिए ।