जनकपुरधाम उपमहानगरपालिकाले बृद्धि गरेको कर फिर्ता लिन तयार भएको छ । मनमानी तरिकाले कर बढाएको भन्दै कर बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका नेपाली कांग्रेस र उपमहानगरबीच वृद्धि गरिएको कर घटाउने सहमति भएको हो ।
नेपाली कांग्रेस जनकपुर नगर कार्यसमितिले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि उपमहानगरपालिकाले आर्थिक ऐन २०७५ ले निर्धारण गरेका कर , गैर कर तथा सेवा शुल्कका दरहरुमा संशोधन गर्ने निर्णय गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा जनकपुर नगर समितिका सभापति मनोज साहले नगर प्रमुख लालकिशोर साहको उपस्थितिमा बसेको वार्ता समितिको बैठकले कर घटाउने प्रयोजनका लागि यथाशिघ्र कार्य प्रक्रिया अघि बढाई कार्यान्वयन गर्ने निर्णय गरेको बताए । उनले आफुहरुले बुझाएको ज्ञापन पत्रका अन्य बुंदाहरुबाट उठाएको विषयहरु समेत अविलम्ब कार्यान्वयन गर्ने निर्णय गरिएको दावी गरे ।
नगर सभापति साहले ३० दिनभित्र मांग पुरा नगरिए फेरी चरणवद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिदै करको दर सशोधन नहुन्जेलसम्म कर नतिर्न नगरवासीलाई आह्वान गरेका हुन् ।
सहमतीकालागि भएको बैठकमा उपमहानगरपालिका तर्फबाट उप मेयर रिता कुमारी मिश्र , प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगाना र नेपाली कांग्रेसको तर्फबाट जनकपुर नगर सभापति मनोज साह , किशोरी साह , दिगम्बर राय , प्रफुल्लराज घिमिरे , रबिन्द्र कुमार सिंह , गणेश झा , कन्हैया कर्ण सहभागी रहेका थिए । त्यसै गरि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह र महासचिव जितेन्द्र कुमार महासेठको समेत उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस जनकपुर नगर कार्यसमितिले गत भाद्र ७ गते स्थानीय शासन ऐन र नियमावली अनुसार नगरपालिका संचालन गर्न मांग गर्दै वृद्धि गरिएको कर यथाशिघ्र खारिज गर्न ७ दिनको अल्टिमेटम दिँदै नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको थियो । तर, आफुहरुको मागबारे कुनै चासो नदेखाएको भन्दै उनीहरु उपमहानगरको प्रत्येक वडामा दुई दिन धर्नामा समेत बसेका थिए ।