जनकपुरका विभिन्न स्थाबाट ५० जना बढी सिके राउतका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। संविधान दिवसलार्इ ‘कालो दिवस’का रूपमा मनाउने भन्दै शक्ति प्रदर्शन गर्ने तयारी गरेका ५० बढी राउतका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको हो।
‘चलु जनकपुर भरु जनकपुर’ को नारा लगाउँदै जनकपुरमा आमसभा आयोजना गर्ने तयारी गरेका राउतलले धनुषा, महोत्तरी सिरहा लगायतका मधेसका जिल्लाहरुबाट आफ्ना समर्थकहरुलाई जनकपुरमा भेला हुन आह्वान गरेका छन्।
राउतको कार्यक्रमलाई मध्यनजर गर्दै प्रहरीले जनकपुरको सुरक्षा व्यवस्था कडा पारेको छ। चौक चौकमा प्रहरीलाई तैनाथ गरिएको छ भने व्यापक संख्यामा सिभिल ड्रेसमा समेत प्रहरी परिचालन गरिएको छ। मधेसमा विखण्डनको नारा लगाउँदै आइरहेका राउत तथा उनका कार्यकर्ताहरु करिब एक महिना अघिदेखि नै समाजिक सञ्जाल तथा गाउँगाउँमा पर्चा पम्पलेट टाँसेर प्रचार प्रसार गर्दै आएका छन्।
प्रहरीले राउतको गतिविधिलाई हेर्दै राउतसहित उनका नेता कार्यकर्तालाई पक्राउ गर्न विभिन्न होटल, लज तथा उनका कार्यकर्ताहरुको घरमा सर्च अभियान समेत चलाएको छ। यसै क्रममा राउतका मुख्य सहयोगी सत्यनाराण मण्डललाई मंगलवार धनुषा प्रहरीले पक्राउ गरेको थियो।
मंगलवार दिउँसो जनकपुर उपमहानगरपालिका–८ स्थित बलबाटोल प्रहरी चौकीबाट खटिएको टोलीले मण्डलाई नियन्त्रणमा लिएको थियो। मण्डल राउतका स्वकीय सचिवको भूमिकामा काम गर्दै आएका थिए। राउतलाई पटक–पटक समातेर राज्यविरुद्धको मुद्दा चाइएपनि उनी अदालतको आदेशमा रिहा हुँदै आएका छन्।