शहरी विकास मन्त्री मो. ईस्तियाक राईले ग्रामिण क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउनको लागि सरकारको एकल प्रयास मात्रै संभव नहुने बताएका छन् ।
गुणस्तरिय स्वास्थ्य सेवाका लागि सबैको समन्वय आवश्यक रहेको भन्दै उनले सरकार नीजि क्षेत्रसंग सहकार्यका साथ अघि बढ्न खोजेको बताएका छन् । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी मिलनचोकमा शनिबार ईकरा पोलिक्लिनिक एण्ड डाईग्नोशिस सेन्टर प्रालिको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले सरकारले ग्रामिण भेगका जनतालाई घरदैलोमा गुणस्तरिय स्वास्थ्य सेवा दिनको लागि नीजि क्षेत्रसंग समन्वय तथा सहकार्य गर्दै आएको उल्लेख गरे । ग्रामिण क्षेत्रलाई लक्षित गरी सञ्चालन गर्न लागिएको विशेषज्ञ सेवासहितको नीजि अस्पतालबाट गाँउका जनताले आफ्नै घरदैलोमा सुलभ स्वास्थ्य सेवा पाउने विश्वास लिएको उनले बताए ।
सो कार्यक्रममा बोल्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक तथा सञ्चालक डा. एम किडवाईले ग्रामिण क्षेत्रमा विशेषज्ञ सेवा सहितको अस्पताल नीजि क्षेत्रबाट सञ्चालन गर्न पहल गर्नु अत्यन्तै राम्रो भएको बताउदै आफुहरु सहकार्य गर्नको लागि तयार रहेको बताए ।
नेपालगन्जदेखि करिव ९ किलोमिटर पूर्वमा रहेको सो अस्पतालले आधुनिक ल्याव, एक्सरे, फार्मेसी लगायतको सेवासंगै विभिन्न खालका विशेषज्ञ सेवा सञ्चालन गर्ने गरी पोलिक्लिनिकको रुपमा सञ्चालन गर्न थालिएको सो अस्पतालका प्रबन्ध निर्देशक मुस्लिम खाँले जानकारी दिए ।
उनले डुडुवा गाउपालिका, राप्ती सोनारी गाउपालिका र नरैनापुर गाउपालिका गरी तीनवटा पालिकालाई लक्षित गरी सेवा सञ्चालन गरिएको बताए । सो अस्पतालले बालरोग, नशा हाड जोर्नी, छाती, पेट, तथा सरुवा रोगको विशेषज्ञ सेवा दिनुको साथै स्वास्थ्य सम्बन्धित विभिन्न चेतनामूलक गतिविधिहरु सञ्चालन गर्ने बताईएको छ