प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीय सत्तामा रमाउनेहरु संविधान र संघीयताको कार्यान्वयन बाधक बनि रहेको आरोप लगाएका छन् ।
उनकै पार्टी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थयमन्त्री मंचमा रहेको बेला पार्टी उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन् ।
फोरम नेपाल प्रदेश प्रदेश नं. १ को प्रादेशिक भेलालाई विराटनगरमा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले राजनीतिक दलका नेताहरुले संघीयतालाई थोरबहुत स्वीकार गरे पनि स्थायी सत्ताका प्रतिनिधिहरुले संघीयतालाई अझै अंगिकार गर्न नसकेको बताए ।
संविधानमा भएकै व्यवस्थाहरु कार्यान्वयन गराउन सातै प्रदेशका मुख्यमन्त्रीहरुले बैठक बसेर एजेण्डा तय गरेकै कारण प्रधानमन्त्रीले बैठक स्थगित गरेको बताउदै उनले यस प्रवृतिले केन्द्रिकृत मानसिकतालाई अझै प्रष्टाएको बताए ।
मुख्यमन्त्री राउतले प्रदेश नं. २ बाहेक सबै प्रदेशमा एउटै पार्टीको सरकार रहेपनि संघीय सरकारले प्रदेशहरुलाई अधिकार दिन आनाकानी गर्नुमा उनिहरुको नियतमै प्रश्न चिन्ह खडा भएको उल्लेख गरे ।
मुलुकमा मधेशी आदिवासी जनजाति दलित मुस्लिम लगायत पहिचानवादीहरु दुई तिहाईको संख्यामा रहेपनि ई शक्तिहरुबीच आपसी एकता हुन नसक्दा मुठिभरका शासकहरुले राज गरि रहेको उनको भनाई छ ।
संविधानमा रहेका पहिचान र संघीयता सम्बन्धिका प्रावधानहरुलाई संस्थागत गर्दै थप अधिकारका लागि लडदै जाने पार्टीको निति प्रति कुनै द्विविधामा नपर्न नेता कार्यकताहरुलाई आग्रह गर्दै उहाँले पहिचानवादीहरु बीचको एकताले प्रदेश नं. १ मात्र नभई देशैभरमा पहिचानवादीहरुको शासन सत्ता स्थापित हुने बताए ।