प्रदेश २ मा प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट स्वीकृत भएको तीन महिना बिति सक्दा पनि विधेयकमाथि छलफल हुन सकेको छैन ।
नेकपाका सदस्यहरु उक्त विधेयकमा छलफलकालागि आउन नमानेपछि विधयेकमाथि छलफल हुन नसकेको बताइएको छ । १४ र १६ भाद्र गरी दुई पटक बसेको समितिको पहिलो बैठकमा नेकपाका सांसद उपस्थित भएपनि दोस्रो बैठकमा अनुपस्थित थिए ।
त्यसपछि सुझाव समितिको बैठक बस्न सकेको छैन् । तर, विधेयक स्वीकृत भएको तीन महिनाको लामो समय बितिसकेकाले सरकार अब जसरी भएपनि उक्त विधेयकलार्य संसदबाट पारित गराउने तयारी गरेको छ ।
प्रहरी सेवासम्बन्धी कानुन नहुँदा कानुन व्यवस्था सुदृढ बनाउनुका साथै शान्ति सुरक्षा कायम गर्न समस्या आएको भन्दै प्रदेश सरकार कुनै हालतमा विधेयक पारित गराउन खोजेको हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले विपक्षी दलले सहयोग नगरेपनि छलफलको लागि विधेयक चाँडै सदनमा प्रस्तुत गर्ने बताएका छन् ।
जनकपुरमा बुधवार प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेशमा सुशासन कायम गर्न उक्त कानुन छिट्टै बन्नुपर्ने बताए ।
यता, सरकारले पारित गराउन चाहेको प्रहरी सेवा ऐनमा प्रतिपक्षी दल नेपाली कांग्रेस विधेयकको पक्षमा देखिएको छ भने नेकपाले विरोध गरेको छ । संघीय सरकारले प्रहरी कानुन ल्याउनुअघि प्रदेशले कानुन बनाउँदा बाझिने सम्भावना रहेको भन्दै नेकपाले विरोध गरेको हो ।
‘संघीय सरकारले प्रहरीसम्बन्धी कानुन तयार नगरेसम्म प्रदेश सरकारले कानुन ल्याउन उपयुक्त हुँदैन,’ नेकपा सांसद रामचन्द्र मण्डलले भने,‘हतारमा प्रहरी ऐन ल्याउँदा संघीय कानुनसँग बाझिने संभावना हुन्छ । र, त्यसले प्रदेश तथा संघबीच अन्तर विरोध उत्पन्न हुन्छ ।’ हतारमा कानुन ल्याउने अपरिपक्वता प्रदर्शन नगर्न उनले प्रदेश सरकारलाई सुझाएका छन् ।
यता नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारले ल्याउने प्रहरी ऐनमा त्रुटी देखिएपछि सुधार गर्न सकिने बताउँदै पारित गर्नुपर्ने बताए । उनले भने, ‘कानुन नहुँदा प्रहरीले यहाँका मन्त्रीहरुलाई समेत टेरेको छैन,’ यादवले भने,‘केन्द्र सरकारले जे गर्छ गर्न दिऔँ, तर कानुन बनाऔं । ’
सरकारले महत्वपूर्ण विधेयकहरु ल्याउन छाडेर अनावश्यक विधेयकहरु ल्याउने गरेको र सरकारकै ढिलासुस्तीका कारण प्रदेशसभा काम विहीन अवस्थामा पुगेको नेता यादवले आरोप लगाए । यस्तै अन्तरक्रिया कार्यक्रममा सत्ता साझेदार दल फोरमका सचेत शैलेन्द्र यादव, राजपा सचेतक परमेश्वर साहलगायतका सांसदहरुले यथाशीघ्र प्रहरी सेवा ऐन पारित गर्नुपर्नेमा जोड दिए ।