प्रदेश २ को सरकारले हरित प्रदेश बनाउन गर्न लागेको वृक्षारोपण कार्यक्रममा सहभागी हुन सबै सर्वसाधारणहरुलाई आग्रह गरेको छ।
प्रदेश २ का प्रत्येक जिल्लामा ७ देखि ८ हजार गरी शुक्रवार एकै दिन ५० हजार विरुवा रोपिदै छ। शुक्रबार विहान ८ बजे सुरु हुने वृक्षारोपन कार्यक्रममा आम जनताहरुलाई समेत सहभागी भएर हरित अभियानलाई सफल पार्न पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले आग्रह गरेका छन्।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रममा रहेको हरित प्रदेशको योजना कार्यान्वयन गर्न हरित अभियान शुरु गर्न लागेको जनाएको छ। गत सोमबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले हरित प्रदेश योजना कार्यान्वयन गर्न असोज १२ गते आठवटै जिल्लामा ५० हजार विरुवा रोप्ने निर्णय गरेको थियो।
५० हजार विरुवा रोपेपछि त्यसको १५ दिनसम्म निरन्तर हेरविचार र अनुगमन गर्ने एवं विरुवा सुकेको ठाउँमा पुनः रोपिने मन्त्रालयका सचिव मेघनाथ काफ्लेले बताए। जिल्ला वन कार्यालयसँग रहेका विभिन्न प्रजातिका विरुवा रोपिने छ।
वृक्षारोपण कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा पर्सा, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बारा, भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव रौतहट, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सर्लाही जाने कार्यक्रम तय भएको छ।
समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी, आन्तिरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री र सरोज सिंह कुशवाहा धनुषा, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव सिरहा र आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव सप्तरीमा सहभागी हुने बताइएको छ।