महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले एक कर्मचारीमाथि हातपात गरेका छन्। नगरपालिकामै कार्यरत लेखापाल पवन अधिकारीमाथि मेयर साहले थप्पड प्रहार गरेका हुन्।
कार्यालयमा हिसावका विषयमा सामान्य विवाद भएपछि मेयर साहले आफुलाई थप्पड हानेको पीडित लेखापाल अधिकारीले बताएका छन्। उनले भने,‘ ममाथि मेयर साहले हातपात र दुव्र्यवहार गरे। यसबारेमा मैले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी पनि गराइसके छु। अब मेयर साहमाथि कारबाहीका लागि प्रशासनमा लिखित निवेदन दिन्छु।’
मेयर साहले लेखापाल अधिकारीसँग गत आर्थिक वर्ष २०७४–०७५ को हिसाव माग्दा उल्टै धम्काएपछि एक थप्पड हानेको स्वीकार गरेका छन्। उनले पटक–पटक पटक हिसाब माग्दा नदिएपछि गत साउन ११ गते आफूले निवेदन समेत दिएको तर, कुनै वास्ता नगरेको बताए। उनले हिसाबबारे कुरा गर्दा तपाईँलाई जे गर्नु छ गर्नुस् भनेपछि आवेशमा आएर एक थप्पड हानेको स्वीकार गरे।
मेयर साहले लेखापाल अधिकारीको काम कारवाही ठीक नभएको र मेयरलगायत प्रमुख प्रशासकीय अधिकृत कसैलाई नटेर्ने गरेको आरोप लगाए। मेयर साहले यसअघि पनि एक जना कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको थियो।