प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा छाडा चौपायाको आतंक बढेपछि उपमहानगरले थालेको छाडा चौपाया नियन्त्रण अभियान असफल भएको छ। पछिल्लो समय छाडा चौपायाको आतंक बढेपछि जनकपुर उपमहानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा छाडा चौपाया नियन्त्रण अभियान शुरू गरेको थियो।
सडकमा छ्याछापी रहने छाडाचौपायका कारण सवारी साधन सञ्चालनका साथै पैदल हिँडडुल गर्न समेत समस्या भएपछि उपमहानगरगरले नियन्त्रण अभियान चलाएको थियो। छाडा चौपायाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएसँगै सवारी दुर्घटनाका घटनाहरू बढेका छन्। तर, भदौ पहिलो साता थालिएको उक्त अभियान एक हप्ता नबित्दै बन्द भयो।
छाडा चौपायाबाट सर्वसाधारणहरू मात्र पीडित छैनन्, बाहिरबाट जनकपुर घुम्न आएका पर्यटकहरू समेत सडक र जानकी मन्दिर वरपर घुमिरहेका छाडा चौपायाहरू देखेर नाक खुम्चाउने गरेको दृष्य सहजै देख्न सकिन्छ। उपमहानगरपालिकाले पटक–पटक चौपाया थुनेर नराखे चौपाया धनीलाई जरिवानासमेत तिराउने गरी नियम बनाएपनि उक्त नियम टिकाउ हुन सकेको छैन।
पछिल्लो पटक उपमहानगरले चौपाया नियन्त्रणमा लिई तीन दिनभित्र सम्बन्धित धनी बुझि लिन आएमा प्रति चौपाया ५ हजार रूपैयाँ जरिवाना गर्ने र चौपाया थुनेर पाल्ने भनी लिखित कागज गराएरमात्रै छाड्ने नियम बनाएको थियो। यदि नियन्त्रणमा लिइएका चौपाया धनी तीन दिनसम्म लिन नआए उपमहानगरपालिकाको कानुन बमोजिम लिलाम गर्ने र गाईहरूलाई उपमहानगरभन्दा बाहिर वा अन्य जिल्लाको गौशालामा हस्तान्तरण गरिने उपमहानगरले जनाएको थियो।
तर, एक हप्तासम्म यो नियम लागू भएपनि पछि यस्ता नियमहरू कार्यन्वयनमा नआएपछि स्थानीयहरू पीडित भएका छन्। ‘छाडा चौपायालाई त सबभन्दा पहिले चौपाया धनीहरूले नै नियन्त्रण गनुपर्ने हो। तर, उनीहरूले आफै यसमा तदारूकता नदेखाएपछि हामी धैरै कठिनाइका बाबजुद यसमा लाग्यौ,’ धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिपक साहले भने,‘ शुरूवाती चरणमा नियन्त्रण अभियान सफल भएपनि पछि पानी परेरपछि हिलोमा उनीहरूलाई समात्न गाह्रो भएकाले छाड्याैं। फेरि पनि याे अभियानलार्इ निरन्तरता दिन्छाैं।’
प्रदेश २ को अस्थायी मुकाम समेत रहेको जनकपुरधाममा सवारीसाधनको बढ्दै गरेको चापले छाडा चौपायाको नियन्त्रण हुन नसक्दा ट्राफिक व्यवस्थापन समेत चुनौतीपूर्ण बनेको प्रहरी निरीक्षक साहको भनाई छ। स्थानीहरूलाई चौपाया व्यवस्थित गर्न आग्रह गरेपछि उनीहरूले वर्षौदेखि खुला छोडेको चौपायालाई किन हटाउने भनेर जवाफ फर्काउने गरेको साहको गुनासो छ।
जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिता झाले कान्जी हाउस सानो भएकाले चौपायाहरू अटाउन नसकेपछि चौयाया नियन्त्रण अभियान बन्द भएको बताइन्। उनले भनिन्,‘एकै हप्तामा दुई सयभन्दा बढी चौपाया नियन्त्रणमा लियौं। र, पछि सबैलाई कारबाही गरेर छोड्यौं। काञ्जी हाउस सानो छ त्यसमा नअटाएपछि नियन्त्रण अभियान रोक्नु प¥यो, हामीले फेरि अभियान थाल्छौं।’