राष्ट्रिय गौरवको आयोजनामा परेको बाँके सिक्टा सिंचाइ आयोजनाको मुल नहर परीक्षणका क्रममा भत्किएको छ। आयोजनाको ‘आइसिपी–टु’ ठेक्का अन्तर्गत १७.७ किमीदेखि ३५ किमीको बीचमा पर्ने उक्त क्षेत्रमा कमसल निर्माणका कारण नहर भत्किन पुगेको हो । अहिले नहर पुनःनिर्माण थालिएको छ ।
केही दिनअघि परीक्षण गर्ने क्रममा ढकेरीस्थित चंगाई खोलानजिक पश्चिम (दायाँ) मुल नहर भत्किएर क्षतिग्रस्त भएको थियो । नहर भत्किएपछि सिक्टाको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको अवस्थामा आयोजना कार्यालयले हतारमा पुनःनिर्माणको काम सुरु गरेको हो । उक्त क्षेत्रमा घुलनशिल माटो (डिसपर्सिभ सोयल) प्रयोग भएका कारण पटक–पटक नहर भत्किने गरेको छ ।
आयोजना कार्यालयका सूचना अधिकारी एवम् सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले मुल नहर भत्किएको ठाउँमा जेसिभी, रोलर र टिपर परिचालन गरेर पुनःनिर्माणको काम थालिएको बताए। उनले भने,‘जुन ठाउँमा नहर भत्किएको छ, त्यो ठाउँमा यसपटक बाहिरको माटो ल्याएर पुनःनिर्माण गरिरहेका छौं।’ उक्त ठाउँको पुनःनिर्माणका लागि ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन कम्पनी जिम्मेवारीबाट पन्छिएको आयोजना स्रोतले जनाएको छ । आयोजना कार्यालयले स्टिमेट गरेर आफ्नै बजेटमार्फत नहर पुनःनिर्माण थालेको बताइएको छ ।
यसअघि २०७३ असार १४ मा पनि ढकेरीनजिक रहेको झिझरी खोला छेउमा मुल नहर भत्किएपछि ठेकेदार खटाएर रातारात पुनःनिर्माण गरिएको थियो । त्यतिबेला भने ठेकेदार कम्पनी कालिकाले नै पुनःनिर्माण गरेको थियो। मुल नहरको उक्त खण्ड अझैसम्म हस्तान्तरण भएको छैन। नहरको मर्मत सुधार अवधिसमेत पूरा नभएको आयोजनाका निर्देशक रमेश बस्नेतले बताए । निर्देशक बस्नेतले भने,‘उक्त क्षेत्रमा पटक–पटक समस्या आएपछि विवादित बनेको छ। अझै पनि पुनःनिर्माणको समय बाँकी छ । केही समयमा सकिन्छ ।’
भत्किएको संरचना परीक्षण नगरी हतारमा बनाउन थालिएको भन्दै स्थानीयबासीले असन्तुष्टी जनाएका छन् । ‘भत्किनुको कारण र प्रमाण मेटाउन सिक्टाले हतार–हतारमा पुनःनिर्माण गरिरहेको छ,’ स्थानीय अगुवा भाईराम ओलीले भने,‘वर्षातका बेला गरिरहेको काम कत्तिको टिकाउ होला र?’ सिक्टाको गुणस्तर छानविन गरेर मात्र निर्माणको काम अगाडि बढाउनुपर्ने स्थानीय बासिन्दाको माग छ। ‘सरकारले सिक्टामा अहिलेसम्म बनेका भौतिक संरचनाको गुणस्तर छानविन गरेर मात्र काम अगाडि बढाओस्, नत्र फेरि पनि नहर भत्किने समस्या दोहोरिने निश्चित छ,’ स्थानीय अगुवा श्रीधर उपाध्यायले बताए।
मर्मतसुधार अवधि पूरा नहुँदै पटक–पटक नहर भत्किन थालेपछि आयोजनाले ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीको धरौटी रकम नै रोकिदिएको छ । कमसल निर्माण गरेका कारण सोही धरौटी रकम पुनःनिर्माणमा खर्चिने कार्यालयको योजना रहेको स्रोतको भनाइ छ। ‘एकै ठाउँमा पटक–पटक समस्या आउन थालेको छ, ठेकेदारले मेन्टिनेन्स पिरियड पनि पुरा नगरेको अवस्थामा जिम्मेवारीबाट भाग्न कोसिस गरेपछि हामीले धरौटी रकम कानुनसम्मत तरिकाले मर्मत कार्यमा खर्च गर्छांै,’ एक इन्जिनियरले स्पेसखबरसँग भने ।