गण्डकी प्रदेश सभाका लागि छनोट भएको प्रतीक चिह्न (लोगो) भद्धा भएको गुनासो आइरहेका बेला प्रतिस्पर्धी मध्येबाट चोरी गरिएको भन्दै प्रदेश सभा सचिवालयको कार्यालयमा उजुरी परेको छ ।
प्रदेश सचिवालयमा इमेलमार्फत पठाइएको लोगो सचिवालयमै कार्यरत विनीत रानामगरले नक्कल गरी प्रतिस्पर्धामा सहभागी भएको अर्का प्रतिस्पर्धी महेन्द्र उपाध्यायले दाबी गरेका छन् ।
‘समितिको सूचना प्रकाशित हुनासाथ मैले इमेलबाट सचिवालयमा २ लोगो पठाएको थिएँ,’ उपाध्यायले भने, ‘मेरो लोगोमा भएको धेरैजसो कन्टेन्ट अहिले उत्कृष्ट घोषणा भएको लोगोसँग मिल्न जान्छ ।’
उपाध्यायले उत्कृष्ट घोषित भएका विनीत रानामगरले आफ्ना २ लोगोको नमूना हेरर हूबहू नक्कल गरेको जनाए । उनले यसरी प्रदेशसँगको सम्मान र लगावलाई अन्य कसैले प्रयोग गरेर परिश्रमको अवमूल्यन गर्न खोजिएको भन्दै आवश्यक छानबिनका लागि सभामुखसमक्ष निवेदनमार्फत आग्रह गरेका छन् ।
लोगो तथा पोसाक सिफारिस समितिका संयोजक एवं प्रदेश सभा सांसद मायानाथ अधिकारीले उजुरी परेको विषयमा आफू जानकार नभएको बताए ।
‘लोगो नक्कल गरि पेस भयो भन्ने विषयको निवेदन मलाई जानकारी छैन,’ उनले भने, ‘कर्मचारी वा अन्य यस्तो यस्तो व्यक्तिले लोगो पेस गर्न पाउने नपाउने कुनै नियम पनि थिएन, नक्कल गरेको प्रमाण खुल्न आयो भने कार्य व्यवस्था परामर्श समितिले निष्कर्श लिन्छ, अहिले नै कुनै आधारबिना केही भन्न सकिँदैन ।’
प्रदेश सभा लोगो तथा पोसाक सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै प्रदेश सभाका लागि लोगो आह्वान गरेको थियो । प्रतिस्पर्धामा पवन पौडेल, विनीत रानामगर, अनुसन्धान पोखरेल, महेन्द्र उपाध्याय र प्रेम श्रेष्ठ गरी ५ जनाबाट १२ वटा लोगो पेस भएका थिए ।
सभामुखको परामर्शमा समितिले सिफारिस गरेको लोगो कार्यव्यवस्था परामर्श समितिले गत भदौ ३० गते बसेको बैठकबाट गोरखाका विनीत रानामगरको लोगोलाई उत्कृष्ट घोषणा गरेको थियो । रानामगर प्रदेश सभा सचिवालयका कर्मचारीसमेत हुन् ।