नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले निर्माणाधीन जनकपुर–जयनगर रेलमार्ग निरीक्षण गर्दै बाँकी कामहरुलाई तीव्रता दिन निर्देशन दिएका छन्।
भारतको आर्थिक सहयोगमा निर्माण भइरहेका रेलमार्ग तयार भइसकेपनि सिभिलतर्फका कामहरु अझै बाँकी रहेको भन्दै राजदूत पुरीले काममा तीव्रता दिन निर्देशन दिएका हुन्। रेल सञ्चालन गर्ने समय थोरै बाँकी रहेकाले बाँकी रहेका भवन निर्माण, रगंरोगन लगायतका कार्य यथाशीघ्र पुरा गर्नुपर्ने उनको भनाइ थियो।
निरीक्षणका क्रममा क्रममा राजदूत पुरी जनकपुर रेलवे स्टेशनबाट रेल चढेर करिब १० किलोमिटर पूर्वमा पर्ने बैदही स्टेशसनसम्म पुगेका थिए। रेलको चालक कक्षमा बसेर राजदूत पुरीसहित भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुले निर्माण कार्यको निरीक्षण गरेका छन्।
भारतको इर्कन कम्पनीले गर्दै आएको निर्माण कार्यमा ३४ किलोमिटर ब्रोडगेज निर्माणकार्य सम्पन्न भएको छ। राजदूत पुरी बैदही स्टेशनबाट फर्किएपनि भारतीय विदेश मन्त्रालयबाट पुगेका पदाधिकारीहरुको टोली जयनगरसम्म पुगेर निर्माण कार्यको प्रगतिबारे जानकारी लिएको रेल विभागका साइट इन्जिनियर विनोद ओझाले बताए।
रेल विभागले २०१८ भित्र रेल गुडाउने लक्ष्य लिएको छ। पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल चलाउने तयारी गरिएको छ भने ३४ किलोमिटर दुरी रहेको जनकपुर–कुर्था रेलखण्डमा १७ किलोमिटरसम्म सफल परीक्षण भइसकेको छ।
पहिलो चरणमा २३ साउनमा भारतको जयनगरदेखि खजुरी स्टेशनसम्म करिब साढे ८ किलोमिटर र दोस्रो चरणमा खजुरीदेखि दुहबी स्टेशनसम्म ९ किलोमिटर रेलको परीक्षण गरिएको थियो। उक्त रेलसेवा सेवाको उद्घाटनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि रेल चढेरै जनकपुर आउने पनि चर्चा छ।