प्रदेशको राजधानी, नामकरण र भाषालाई लिएर विपक्षी दल नेकपा र कांग्रेस एक भएका छन् । दुवै दलले शुक्रबारको संसद् बैठक संयुक्त रूपमा अवरोध गरे । प्रदेशको राजधानी, नामकरण तथा भाषामा नेकपा र कांग्रेसको समान धारणा छ ।
नेकपा र कांग्रेसका सांसदले शुक्रबारको प्रदेश सभामा सरकारको भनाइ र व्यवहार फरक देखिएको भन्दै बैठक अवरुद्ध गरेका थिए । प्रदेश सरकार गठन भएको झन्डै नौ महिना भइसक्दा पनि राजधानी, नाम र भाषाको विषयमा औपचारिक छलफल नगरेको दुवै दलको आरोप छ ।
विपक्षी दलहरूले संसद् नै अवरुद्ध गरेपछि प्रदेश सरकारले खुलाउन पहल थालेको छ । आइतबार बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभाको बैठकअघि नै विपक्षी दलहरूलाई सहमतिमा ल्याउन पहल थालेको सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री विजय यादवले बताए ।
तर, कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभाको बैठक चल्न नदिने बताए । नयाँ पत्रिका दैनिकमा खबर छ।