प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाकरणका लागि विशेष सुझाव समिति गठन गरिएको छ।
सोमबार बसेको संसद बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिबेदन पेश गर्न प्रदेश सांसद तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाब समिति गठन गरिएको जानकारी दिए। समितिमा प्रदेश सांसद प्रेमप्रकाश भट्ट, बलदेब रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरी सदस्य छन् ।
झण्डै एक महिना अघि मुख्य विपक्षी दल कांग्रेसले प्रदेशसभा सञ्चालन भएको लामो समय बितिसक्दा पनि राजधानीको स्थान र नामाकरणबारे छलफल सुरु नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो। समितिलाई साउन २१ गतेभित्र सरोकारवाला सबै पक्षसंग छलफल गरी प्रतिबेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
हाल प्रदेश नंबर ७ को अस्थायी राजधानी कैलालीको धनगढीमा छ। स्थायी राजधानीका लागि कैलालीकै अत्तरिया र डोटीको दिपायल चर्चामा छ।