पाँच नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले तलब खाने बाटो खुलेको छ। मन्त्रीहरुका साथै प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको समेत सेवा सुविधासम्बन्धी विधेयक सोमबार बसेको संसद बैठकले पारित गरेसंगै बाटो खुलेको हो।
विधेयकमा संशोधन भएपछि पाँच नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले चाडपर्व वापत एक महिनाको तलब सुविधा भने रोकिएको छ। सरकारले १३ महिनाको तलव सुविधासहितको विधेयक संसदमा यसअघि दर्ता गरेको थियो।
छलफलका क्रममा सांसदहरुले चाडपर्व वापतको एक महिनाको तलब पाउने बुँदा हटाएका छन्। अर्थ, उद्योग तथा पर्यटन समितिले चाडपर्व वापतको सुविधा हटाउँदै सदनमा पेश गरेको प्रविदेन नै पारित भएको हो।
विधेयक पारित भएसँगै प्रदेश ५ का मुख्यमन्त्री, मन्त्री तथा सांसद कसैले पनि चाडपर्व वापतको तलब पाउने छैनन्। प्रदेश सांसद तुल्सी चौधरीले देशैभरी सकारात्मक सन्देश दिन मुख्यमन्त्री तथा मन्त्रीहरुको चाडपर्व खर्च हटाइएको बताए।