गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार र अनियमितताले मुलुकको विकास हुन नसकेको बताएका छन् ।
जिल्ला समन्वय समिति तनहुँले शुक्रबार बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भ्रष्टाचार र अनियमितता मौलाउँदा मुलुकको विकास सोचे जस्तो हुन नसकेकाे बताए ।
मुख्यमन्त्री गुरुङले दुई वर्षे योजना बाह्र,तेह्र वर्षसम्म पनि सम्पन्न हुन नसक्नु र विनियोजित बजेटको सही सदुपयोग हुन नसक्नु जस्ता कारणले मुलुकको विकास पछाडि परेको उल्लेख गरे ।
प्रदेश र स्थानीय तहलाई सङ्घीय सरकारले अधिकार कम दिएको गुनासो गर्दै उनले आफूले प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर आवाज उठाइरहेको बताए ।
मुख्यमन्त्री गुरुङले राजश्व उठाउने अधिकार नहुँदा प्रदेश र स्थानीय सरकार कमजोर भएको बताउँदै यसबारेमा सङ्घीय सरकारले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गरे।