जनकपुरधाम उपमहानगरपालिकाले वडा कार्यालयको भवन जोगाउन सामुदायिक विद्यालयको भवन भत्काएको विरोधमा स्थानीहरुले उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
वडा नम्बर २१ कुर्थास्थित नक्सा र मापदण्ड विपरित जर्बजस्ती विद्यालय भवन भत्काएको भन्दै कुर्थाका स्थानीहरुले आइतबार उपमहानगरपालिका कार्यालयका साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत घेराउ गरेका हुन् ।
उपमहानगर प्रमुख लालकिशोर साह र वडा अध्यक्ष रामेश्वर महासेठले राजनीतिक प्रतिसोध बोकेर डोजर लगाइ सार्वजनिक विद्यालय भवन भत्काउन लगाएको स्थानीहरुको आरोप छ । विद्यालय भवन भत्काइएपछि त्यहाँ अध्ययनरत ६ सय विद्यार्थीको भविष्य अन्यौलमा परेको स्थानीय शम्भु झाले बताए ।
सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर सडकमै वडा कार्यालय निर्माण गर्न बालबालिकाको भविष्य अन्यौलमा पार्दै विद्यालय भवन भत्काइएको उनको आरोप छ । सार्वजनिक सम्पक्तिको सुरक्षा र विद्यालय भवन पुनः निर्माणको माग राख्दै आफूहरुले उपमहानगरसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको स्थानीहरुले बताए ।
उपमहानगरपालिका कार्यालयले गत वैशाख महिनामा विद्यालय भवन भत्काउन लगाएपछि विद्यालयका प्रधानाध्यापक वीरेन्द यादवले उच्च अदालत जनकपुरमा मुद्दासमेत दायर गरेका थिए ।
उच्च अदालत जनकपुरले विद्यालय समीपको सडकको मध्यविन्दु यकिन गरी दायाँबायाँ दुबैतर्फ बराबर जग्गा पर्नेगरी मात्र बाटो निर्माण गर्न आदेश दिएको थियो । तर, सडकको दायाँ पर्ने विद्यालयको भवनतर्फबाट मात्र सडक विस्तारको काम गरिएको यादवले बताए ।
सडकमै रहेको वडा कार्यालय भवनलाई केहि नगरी जनप्रतिनिधिहरुले विद्यालय भवन भत्काउन लगाएको प्रधानाध्यापक यादवले जनाए ।