नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुुख सचेतक देवप्रसाद गुरुङले विदेशी शक्तिहरुको प्रभुत्व नै मुलुक समृद्धिको बाधक भएको दावि गरेका छन्।
नेकपा लमजुङद्धारा विहिबार बेसीशहरमा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता गुरुङले भने ‘विदेशी शक्तिहरुले सयौँ वर्ष अघिदेखि विभिन्न ढंगबाट प्रभाव पार्दै आए, ती शक्तिकै अदृष्य भूमिकाले सरकार केही गर्न नसक्ने अवस्था पुगेको हो।’
जनमतको आधारमा दुईतिहाईको सरकार शक्तिशाली देखिए पनि राज्य संयन्त्रहरुमा बहुराष्ट्रिय कम्पनीहरुको प्रभुत्वले अपेक्षित उपलब्धी हाँसिल गर्न नसकिएको नेता गुरुङको भनाई थियो।
‘सरकार एउटा योजना बनाउछ, कार्यन्वयन गर्ने संयन्त्रमा अर्कैले भुमिका खेल्छ’ उनले भने, ‘हामी आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म विदेशी प्रभाव हट्दैन र मुलुकको समृद्धि सम्भव छैन।’
लमजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका नेता गुरुङले विदेशी प्रभावकै कारण मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मको विविधतामा एकता कायम राख्न समेत चुनौति भएको बताए। मुलुकलाई आत्मनिर्भर बनाउन व्यवसायिक कृषि, औद्योगिकरण र अन्य सम्भाव्यताको विकासका लागि सरकारले प्राथमिकतामा राखेको नेता गुरुङको भनाई थियो।