नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनतालाई दुःखमात्रै दिएको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि महँगी बढाएर जनतालाई दुःखमात्रै दिएको आरोप लगाएका हुन्।
उनले वर्तमान सरकारले समृद्धिको परिकल्पना गरेपनि त्यसलाई व्यवहारमा लागू गर्न नसकेको बताए। नेता महतले वर्तमान सरकारले सुख र समृद्धि भन्दा पनि व्यक्तिगत रुपमा फाइदा लिइरहेको आरोप लगाए। ‘वर्तमान सरकारले मंहगी लादेर लादेर जनतालाई झन् दुःख दिएको छ,’उनले भने,‘ वर्गीय आर्थिक वितरणका लागि सरकार उत्पादन प्रक्रियामा निरीह बनेको छ।’
फरक प्रसंगमा महतले पार्टीलाई एक ढिक्का बनाएर लैजाने बेला आएको बताए। उनले वर्तमान सरकारबाट अब जनताले धेरै आश गर्ने ठाउँ नरहेकाले अर्को निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने दाबी गरे।