३ नं प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित बर्खास्त भएका छन् ।मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबारबाट लागू हुने गरी उनलाई बर्खास्त गरेका हुन् ।
उनलाई बर्खास्त गरेपछि रिक्त मन्त्रालय आफू मातहतमै राख्ने गरी मुख्यमन्त्री पौडेलले निर्णय गरेका छन् ।
मन्त्री परिषदमा मुख्यमन्त्रीको मानमर्दन गरेको र आफूले पाएको जिम्मेवारी पूरा नगरेको आरोप मुख्यमन्त्रीले लगाउँदै आएका छन् । स्थापितकै कारण ३ नं प्रदेश सरकार आलोचित बनेको मूल्यांकन मुख्यमन्त्री र अरु मन्त्रीहरुले पनि गर्दै आएका छन् ।
मुख्यमन्त्री पौडेलले काठमाडाैमा अाएर प्रधानमन्त्रीलाई भेटेपछि स्थापितलार्इ बर्खास्त गरेका हुन। बुधबार प्रदेश मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएकाे थियाे । स्थापित प्रदेश ३ को मन्त्रीकै हैसियतमा आइतबार चीन भ्रमणमा जाने तयारीमा थिए।
तत्कालीन नेकपा एमाले कोटामा उनी मन्त्री भएका हुन् । उनी यसअघि मुख्यमन्त्रीका दाबेदार पनि हुन् । हेटौडाबाट राजधानी सार्ने बिषयमा उनी कडा रुपमा प्रस्तुत हुँदै आइरहँदा मकवानपुरबासी उनीसँग रुष्ट थिए ।
केही महिनाअघि मकवानपुरको मनहरीमा बिपक्षीसँग बसेर आचरण विपरित खानपानमा लागेको भन्दै उनीबारे केन्द्रीय अनुशासन आयोगसम्म कारबाहीको लागि कुरा पुगेको थियो ।