अवलोकन भ्रमणमा निस्केको स्याङ्जाको चापाकोट नगरपालिकाका मेयरसहितको टोली कालिकोटमा कुटिएको छ।
मुगुको राराताला घुमेर फर्केने क्रममा कर्णाली राजमार्गको सनलाइट होटेलमा बसेका दुई समूहबीच झगडापछि झडप भएको र मेयर शिवकुमार गिरीसहितको टोली शनिबार राति कुटिएको कालिकोटका सिडिओ चन्द्रबहादुर कार्कीले बताए। गिरी नेपाली कांग्रेसबाट चापाकोट नगरपालिकामा मेयरमा निर्वाचित भएका व्यक्ति हुन्।
सिडिओ कार्कीले टेलिफोनमा भने,‘होटेलमा बसेको दुवै टोली कडा परेछ, मदिरा सेवनपछि हात चलाउने उहाँहरुको बानी रहेछ। मेयरसाब अहिले उपचार गराइरहनुभएको छ।’ सिडिओ कार्कीका अनुसार मेयर गिरीको टाउकोमा चोट लागेकाले ५ वटा टाँका लगाइएको छ।
मेयर गिरीका स्वकीय सचिव राजकुमार मल्ललाई सख्त घाइत भएका छन्। उनलाई १६ वटा टाँका लगाइएको छ। घाइते नगर प्रहरी इन्चार्ज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको अस्पताललाई उद्धृत गर्दै सिडिओ कार्कीले टेलिफोनबाट जानकारी दिए।
घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको सिडिओ कार्कीले बताए । नियन्त्रणमा भएका ५ जना भक्तपुरका युवा हुन्। सिडिओ कार्कीले भने,‘जाहेर दिएर मुद्दा चलाउने बारेमा छलफल भइरहेको छ, मेयर साबले मुद्दा चलाउने भने भन्दा छलफलबाट कुरा मिलाउने भन्नुभएको छ रे।’
निर्वाचित जनप्रतिनिधिसहित कर्मचारीको टोली सरकारी खर्चमा रारा ताल घुम्न गएको थियो। टोलीमा ३० जना छन्।