लामो समयको प्रतिक्षापछि मोरङको विराटनगर १८ भेडियारीसम्म रेल आएको छ । भारतीय पक्षले अाइतबार रेलका इन्जिन ल्याएर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । उक्त रेलको इन्जिनलाई सर्वसाधरणले भव्य स्वागत गरेका छन् ।
भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रको रेलको ट्रयाक परीक्षणका क्रममा अाइतबार रेलको इन्जिन आएको छ ।
निर्माण कम्पनी इर्कनका पदाधिकारी, भारतीय रेल विभागका अधिकारी सवार इन्जिन भारतको बथनाहा देखि नेपालको कस्टम यार्डसम्म आएको हो । न्यू बिजी रेल लाइन प्रोजेक्ट अन्तर्गत उक्त ट्रयाक भारतीय निर्माण कम्पनी इर्कनले निर्माण गरेको हो ।
कम्पनीको प्रमुख आश्वीनीकुमारले नेपालले रेल लाइनमा पर्ने जग्गा हस्तान्तरण गरे अबको डेढ वर्षभित्र कटहरीसम्म रेल पुग्ने बताए ।
भारतीय ३ सय ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले हालसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको उक्त कम्पनीले जनाएको छ । भेडियारीसम्म रेलको नियमित संचालनको लागि भने अझै ४५ दिने लाग्ने निर्माण कम्पनीले जनाएको छ ।