नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम प्रभाबकारी बनाउँन गियर बदल्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष दाहालले भने,‘हिलो मैलोको समयमा गाडी चलाउँदा एक नम्वर गियरमा चलाइन्छ, हिलो मैलो सकिएको छ, अव गियर फेरेर भएपनि सरकार अगाडि जान्छ।’
सवारी चालकले गाडीको गियर परिर्वतन गरेजस्तै सरकारले आफनो काम कार्वाहीलाई तिव्रता दिनुपर्ने उनको भनाई थियो। सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै अध्यक्ष दाहालले गियर बदलेर भएर पनि कामलाई गति दिनुपर्नेमा जोड दिँदै आएका छन्।
उनले केन्द्रमा विवाद भएका कारण पार्टी एकतामा ढिलाई भएको भनेर जसरी बाहिर हल्ला गरिएको छ त्यसमा सत्यता नभएको दाबी गरे। अध्यक्ष दाहालले भने,'भोलिका दिनमा आउन सक्ने अप्ठ्यारोलाई अहिले नै सच्याएर जाने योजना बनाएकाले पार्टी एकताको कार्य ढिलाई भएको हो।’
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको बताए। मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो। तर, अहिले यो भ्रमण अनिश्चित भएको खबरहरु आएका छन्, दाहालले भने ‘यसलाई अनौठो रुपमा लिनु हुँदैन।’
नेकपा मोरङले शुभ दिपावलीको अवसरका आयोजना गरेको चियापान कार्यक्रममा भाग लिन विराटनगर आएका अध्यक्ष दाहालले सोमबार नै पार्टी कार्यालयमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपाले जनाएको छ।