हिन्दुहरुको दाेस्राे ठूला महान पर्व तिहारकाे पहिलो दिन आज काग तिहार सँगै तरार्इका क्षेत्रहरूमा धनतेसर विशेष रूपमा मनाइँदैछ ।
धनतेरसमा विशेष गरी नयाँ समान, सवारी साधन, गरगहना, धातुको भाँडाकुडा किनमेल गर्ने प्रचलन रहेकाे छ । यस दिन प्रत्येक वर्ष जनकपुरमा विहानैदेखि उपभोक्ताहरुको उत्साह र भिडभाड देखिन्थ्याे, तर यसवर्ष भने उपभोक्ता र व्यपारी त्यति उत्साहित देखिएका छैनन् ।
एडिबीको ऋण सहयोगमा जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास परियोजना अन्तर्गत निर्माण भइरहेको सडक दिपावली, छठसम्म समेत बन्न नसकेपछि प्राय धेरैजसो सुन, चाँदी तथा कपडाका पसलहरु बन्द छन् ।
करिब ७ महिनादेखि कतिपय व्यापारीले पसलको ताल्चा समेत खोल्न पाएका छैनन् । करोडौँको लगानी गरी व्यवसायी गरेर बसेका व्यवसायीहरुले महिनौ बितिसक्दा समेत सटर खोल्न नसकक्दा व्यापारीहरु खिन्न छन् । बजारमा पुग्न अझैपनि सडक निर्माण हुन नसकेपछि धनतेरसकालागि किनमेल गर्ने सर्वसाधारणको विगतवर्षजस्तो चहलपहल देखिएको छैन् ।
सडक विस्तारका क्रममा भत्काइएका घरहरु मर्मत हुन नसकेपछि करोडौं घाटा सहेर सटर बन्द गरेर बसेका छन्, जनकपुरका व्यापारीहरु । करिब एक वर्षदेखि जनकपुरको व्यवसाय नै धरासायी भएको छ ।सडक विस्तारका कारण व्यवसाय खस्किँदै गएपछि ऋण र कर्जाको दबाब थेग्न नसकेर केही व्यापरी विस्थापित भएका छन् भने केही भारतसमेत पलायन भएका छन् ।
धनतेरसमा लाखौंको आम्दानी गर्ने यहाँका कपडा र सुनचाँदी व्यवसायीहरु सबैभन्दा बढी मारमा परेका छन् । धनतेरसका बेला सुनचाँदी खरिद बिक्री गर्ने जनकपुरका अधिकांश पसल सञ्चालनमा नै छैनन् । सडक निर्माण तथा महँगी दुबै बढेकाले धनतेरसमा उपभोक्ता तथा व्यापारी दुबै खिन्न देखिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह बताउँछन् ।