नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन्।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले यस्तो बताएकी हुन्। उनले भनिन्,‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’
उनले भनिन्,‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो। तर, हामीसँग सल्लाह लिनुभएन्। सल्लाह लिएको भए राम्रो हुनेथियो।’
पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि पनि सहमति, सहकार्य र एकताको आवश्यकत्ता रहेको बताउँदै सभापतिले त्यस्तो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो। उनले भने,‘सभापतिज्यू, कुनै एक गुटकोजस्तो सभापति बन्नुभएन। अब सिँगो पार्टीको सभापति बन्नुपर्यो।’
पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले सभापति देउवाले पार्टीभित्रको गुटलाई अन्त्य गर्न नसकेको आरोप लगाईन्। उनले भनिन्,‘पार्टीलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्छ। अनुशासनमा चलाउनुपर्यो।’
सभापति देउवाको यो कार्यकाल अन्तिम पटक हुनसक्ने संकेत गर्दै उनले यस्तो बेलामा पनि सबैलाई एकजुट बनाएर लैजान नसक्नु दुःखद् भएको गुनासो पोखिन्।