स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले सञ्चालन गरेको अस्पतालका कर्मचारीहरुले बिरामीका कुरुवाहरुमाथि निर्घात कुटपिट गरेका छन्। जनकपुरस्थित मन्त्री यादवले सञ्चालन गरेको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा प्रसुति गराउन आएकी एक महिलाका कुरुवामाथि निर्घात कुटपिट भएको हो।
मंगलवार राति प्रसुतिका लागि जानकी हेल्थ केयर पुगेकी सृजना महतोकी काका किशोरी महतोलाई कुटपिट गरी अस्पतालका कर्मचारीहरुले आँखा फुटाई दिएका छन् भने भने अन्य तीन जना घाइते भएका छन्। घाइते भएकी किशोरीको आँखामा गम्भीर चोट लागेपछि जनकपुरबाट लहानको सगरमाथा आँखा अस्पाल रिफर गरिएको छ।
कुटपिटबाट सृजनाका काका हरि महतो, भाइ मोहन महतो र नन्द सुनिता महतो घाइते भएका छन्।
के हो घटना?
प्रसुतिका लागि २६ वर्षीया सृजना मंगलवार बर्दिबासको एक अस्पतालमा भर्ना भएकी थिइन्। मंगलवार साँझ सृजनाले जन्म दिएको बच्चाको मुटुको गति कम रहेको भन्दै बर्दिबास अस्पतालका चिकित्सकहरुले जनकपुर रिफर गरे।
सृजना जनकपुरको जानकी हेल्थ केयरमा करिब ८ बजे भर्ना भइन्। भर्ना हुँदाको बखत प्रसुति सम्बन्धि चिकित्सक अस्पतालमा थिएनन्। पछि अस्पतालका नर्स तथा प्रशासनलाई डाक्टर बोलाउन पटक–पटक आग्रह गरेपनि ५ मिनेटमै डाक्टर आउने भन्दै अस्पताल आश्वासन दिए।
तर, करिब ९ बजेसम्म अस्पतालमा डाक्टर नआएपछि बच्चाको घाटी पेटमै अड्केर मृत्यु भएको पीडित सृजनाका बुबा उमेश महतोले बताए। ‘अस्पताका नर्स तथा प्रशासनलाई डाक्टर बोलाउन पटक–पटक आग्रह गरे। ५ मिनेटमै डाक्टर आउने भन्दै पटक–पटक उनीहरुले आश्वासन दिए। तर, एक घण्टापछि पनि डाक्टर आएनन्,’ भक्कानिँदै उनले भने, ‘प्रसुति गराउन बाहिर लान पनि उनीहरुले सल्लाह दिएनन्।’
बच्चाको मृत्यु पछि सृजनाका भाइ मोहनले डाक्टर नआउने र यहाँ प्रसुति सम्भव नहुने शुरुमै किन नभनेको भन्दै प्रसुतिमा रहेका नर्स तथा कर्मचारीमाथि आक्रोश पोखेपछि विवाद भएको उमेशले बताए। विवाद भएपछि अस्पतालका कर्मचारीका साथै अस्पतालले बाहिरबाट पनि मान्छे ल्याएर मन्त्रीको अस्पताल हो भनी धम्की दिँदै २०-२५ जनाको समूहले छोरा, भाइ र सृजनाकी नन्दमाथि निर्घात कुटपिट गरेको उनले जनाए।
झगडा छुटाउन जाँदा अस्पतालका कर्मचारी तथा बाहिरबाट आएका मान्छेहरुले आफूमाथि पनि फुटेको डस्टविन र मुक्का प्रहार गर्दै कुटपिट गरेको सृजनाकी नन्द सुनिताले बताइन्। विवाद भएपछि आफूहरुले प्रहरीलाई फोन गरेको र प्रहरी आएपछि अस्पतालका एक कर्मचारी र आफ्ना छोरो मोहनलाई नियन्त्रणमा लिएर थुनेको उमेशको भनाइ छ। उनले शक्तिको आडमा आफूहरुमाथि ठूलो अन्याय भएको भन्दै न्यायका लागि गुहार मागेका छन्।
सृजना भर्ना भए लगत्तै नै जाँच गर्दा बच्चाको धड्कन नचलेको थाहा भएपछि कुरुवा पक्षलाई यहीँ प्रसुति गराउने वा बाहिर लैजाने भन्नेबारे सोधेपछि उनीहरुले यहीँ प्रसुति गराउन तयार भएको प्रसुतिमा संलग्न डा. नवराज पाण्डेयले बताए। बाहिर नलग्ने यहीँ प्रसुति गराउन उनीहरु तयार भएपछि २०-२५ मिनेटमा बच्चाको जन्म भएको र पछि आफूहरु बच्चा मृत रहेको वा जिवीतै रहेको निश्चित गर्ने प्रक्रियामा लागेपछि बच्चा जिवित नरहेको पुष्टि भएको डा.पाण्डेयले बताए।
पछि इसिजी गर्न अस्पतालका कर्मचारी गएपछि कुरुवा पक्षले आवेशमा आएर कर्मचारीमाथि हातपात गर्दा झगडा भएको उनको भनाइ छ।