नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्यागका बारेमा सहीरुपमा पुस्तान्तरण हुन नसकेको बताएका छन् ।
गोकर्णेश्वर नगरपालिका र बिपी सङ्ग्रहालय समितिले बिहीबार संयुक्त रुपमा आयोजना गरेको गणेशमान सिंहको १०४औँ जन्मजयन्ती एवम् शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पदभन्दा प्रजातन्त्र ठूलो हो भन्ने सन्देश प्रवाह हुन नसकेको बताए ।
सर्वोच्च नेता सिंहकै कुशलताले ३० वर्षपछि प्रजातन्त्र पुनःस्थापना भएकाले भावी पुस्तालाई यसको सही जानकारी दिनुपर्ने नेता निधिको भनाइ थियो ।सत्तापक्षको अरुचिले प्रदेश पङ्गु भई सङ्घीयता धरापमा परेको नेता निधिको आरोप थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नेपाल आदिवासी जनजाति सङ्घका अध्यक्ष आइवी गुरुङ, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी, कलाकार श्रीकृष्ण सिम्खडा, काङ्ग्रेस नेताहरु विमल ठकुरी, भुवन लामा, श्रीकृष्णराज थापा, शङ्करकुमार श्रेष्ठ, मनोजकुमार ढुङ्गाना, डा ध्रुव शर्मा मुडवरी र सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेललगायतले सर्वोच्च नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएकाे योगदानका चर्चा गरेका थिए। नेता सिंहलाई २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।